काठमाडौं- सडक विभाग ले आगामी आर्थिक वर्षका लागि देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ।
विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा उक्त विवरण सार्वजनिक गरिएको हो। विभागका प्रवक्ता एवं उपमहानिर्देशक इन्जिनियर श्यामबहादुर खड्का का अनुसार विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग र सहायक सडक सञ्जाल गरी कुल १८ हजार किलोमिटर सडकको मर्मतका लागि उक्त बजेट माग गरिएको हो।
विभागका अनुसार सडकलाई सुरक्षित र सुचारु अवस्थामा राख्न नियमित, पुनरावर्ती तथा आवधिक मर्मतका साथै सडक सुरक्षा र बायो-इन्जिनियरिङसम्बन्धी कार्यमा उक्त रकम खर्च गरिनेछ।
सडक विभागले सडकको भौतिक अवस्था, ट्राफिक चाप र सतहको गुणस्तरका आधारमा वैज्ञानिक पद्धतिबाट योजना तयार गरिएको जनाएको छ। विभागका चारवटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयमार्फत सडक खण्डहरूको तथ्यांक संकलन गरी वेब-बेस्ड सफ्टवेयर प्रणालीमार्फत मर्मत आवश्यकता र बजेट पहिचान गरिएको प्रवक्ता खड्काले जानकारी दिए।
उनका अनुसार सडकको इन्भेन्टरी, ट्राफिक चाप तथा सडक सतहको अवस्थाको विश्लेषण गरेर डाटाबेसमा आधारित योजना निर्माण गरिएको हो। कार्यशालामार्फत देशभर कुन सडक खण्डलाई कस्तो प्रकारको मर्मत आवश्यक छ भन्ने एकीकृत चित्र स्पष्ट भएको विभागको भनाइ छ।
यस योजनाले निर्माण सम्पन्न भई मर्मत चरणमा प्रवेश गरेका आयोजनाको पहिचान र प्रमाणीकरणलाई समेत सहज बनाएको विभागले जनाएको छ। मर्मत कार्यलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा उपलब्ध गराउने लक्ष्य विभागले राखेको छ।
आगामी आर्थिक वर्षमा सडक मर्मतसम्भारलाई प्राथमिकतामा राख्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यो एकीकृत योजना महत्वपूर्ण आधार बन्ने विभागको विश्वास छ।