काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडको बीमा व्यवसायमा अन्डरराइटिङ घाटा बढेको छ। पछिल्लो वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा १२ करोड ५० लाख रुपैयाँको अन्डरराइटिङ घाटा व्यहोरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार दाबी भुक्तानी र सञ्चालन खर्चमा आएको तीव्र वृद्धिका कारण कम्पनीको बीमा व्यवसायबाट हुने नाफा दबाबमा परेको देखिएको छ।
कम्पनीको बीमा शुल्क आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ८५ करोड रुपैयाँ रहेको ग्रस बीमा शुल्क २०७९/८० मा २ अर्ब ९२ करोड, २०८०/८१ मा ३ अर्ब १४ करोड र २०८१/८२ मा ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै कम्पनीले १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी ग्रस बीमा शुल्क संकलन गरिसकेको छ।
त्यस्तै शुद्ध बीमा शुल्क आम्दानी २०७८/७९ मा १ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा २०७९/८० मा घटेर १ अर्ब ६८ करोड रुपैयाँमा झरेको थियो। त्यसपछि २०८०/८१ मा १ अर्ब ७८ करोड र २०८१/८२ मा १ अर्ब ७८ करोड ९० लाख रुपैयाँमा स्थिर देखिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
दाबी खर्चमा आएको तीव्र वृद्धिले कम्पनीको बीमा व्यवसायमा थप दबाब सिर्जना गरेको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म दाबी अनुपात करिब ५० देखि ५२ प्रतिशतको दायरामा रहे पनि चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो अनुपात बढेर ९४ प्रतिशत पुगेको छ। यसले बीमा शुल्कको ठूलो हिस्सा दाबी भुक्तानीमै खर्चिनु परेको देखाउँछ।
कम्पनीको सञ्चालन खर्च पनि निरन्तर बढ्दै गएको छ। व्यवस्थापन खर्च अनुपात पछिल्ला वर्षहरूमा ३३ प्रतिशतदेखि बढेर चालु आर्थिक वर्षको पहिलो छ महिनामा ४७ प्रतिशत पुगेको छ। कमिसन खर्च अनुपात भने क्रमशः सुधार हुँदै माइनस ११ प्रतिशतबाट माइनस २३ प्रतिशतसम्म पुगेको छ।
बीमा व्यवसायको समग्र संयुक्त अनुपात आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म ७० देखि ७५ प्रतिशतको दायरामा रहे पनि चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो बढेर ११८ प्रतिशत पुगेको छ। यसले कम्पनीले संकलन गरेको बीमा शुल्कभन्दा बढी दाबी र खर्च व्यहोर्नुपरेको स्पष्ट संकेत गर्छ।
कम्पनीको नाफा पनि क्रमिक रूपमा घट्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा ५४ करोड ७० लाख रुपैयाँ रहेको नाफा २०७९/८० मा ७० करोड ५० लाख रुपैयाँ पुगेको थियो। त्यसपछि २०८०/८१ मा ५९ करोड १० लाख र २०८१/८२ मा ५७ करोड ९० लाख रुपैयाँमा झरेको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा नाफा घटेर १ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै लगानीबाट हुने आम्दानी पनि घट्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा २७ प्रतिशत रहेको लगानी आम्दानीको अनुपात २०८१/८२ मा १६ प्रतिशत र चालु आर्थिक वर्षको पहिलो छ महिनामा १० प्रतिशतमा झरेको छ।
बीमा शुल्क आम्दानी बढ्दै गए पनि दाबी भुक्तानी र सञ्चालन खर्चको दबाब, कमजोर अन्डरराइटिङ नतिजा र घट्दो लगानी आम्दानीका कारण नेको इन्स्योरेन्सको बीमा व्यवसायमा नाफा स्थायित्व चुनौतीपूर्ण बन्दै गएको छ।
यता नेको इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा १६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५५.६१ प्रतिशत कम हो। गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।