सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

पञ्चकन्या ग्रुपको कुल आम्दानी ६ अर्ब ६८ करोड, स्टिल कम्पनीकै दबदबा कायम

आइतबार, जेठ १० २०८३
पञ्चकन्या ग्रुपको कुल आम्दानी ६ अर्ब ६८ करोड, स्टिल कम्पनीकै दबदबा कायम

ग्रुपका अन्य कम्पनीमध्ये पञ्चकन्या प्लास्टिक इन्डष्ट्रीज प्रालिले ९८ करोड ३० लाख रुपैयाँ, पञ्चकन्या रोटोमोल्ड प्रालिले ७९ करोड ९० लाख रुपैयाँ तथा पञ्चकन्या प्लास्ट प्रालिले ७९ करोड १० लाख रुपैयाँको आम्दानी गरेका छन्।

काठमाडौं- पञ्चकन्या ग्रुपको समग्र आम्दानी गत आर्थिक वर्षमा ६ अर्ब ६८ करोड १० लाख रुपैयाँ पुगेको छ। सन् २०२४ को ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँको तुलनामा यो १४.२६ प्रतिशतको वृद्धि हो। सन् २०२३ मा ग्रुपको कुल आम्दानी ७ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। जसअनुसार २०२४ मा देखिएको गिरावटपछि पुनः सुधारको संकेत देखिएको छ।

चार वटा कम्पनीमार्फत सञ्चालन भइरहेको ग्रुपको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान पुनः पञ्चकन्या स्टिल प्रालिको रहेको छ। स्टिल कम्पनीले मात्रै गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको छ। यो ग्रुपको कुल कारोबारको करिब दुई तिहाइ हिस्सा हो।

ग्रुपका अन्य कम्पनीमध्ये पञ्चकन्या प्लास्टिक इन्डष्ट्रीज प्रालिले ९८ करोड ३० लाख रुपैयाँ, पञ्चकन्या रोटोमोल्ड प्रालिले ७९ करोड ९० लाख रुपैयाँ तथा पञ्चकन्या प्लास्ट प्रालिले ७९ करोड १० लाख रुपैयाँको आम्दानी गरेका छन्।

स्टिल व्यवसायमै निर्भर संरचना

आम्दानी संरचनाले ग्रुप अझै पनि स्टिल व्यवसायमा अत्यधिक निर्भर रहेको देखाउँछ। भारतबाट कच्चा पदार्थ आयात गरी टीएमटी डण्डी उत्पादन गर्दै आएको पञ्चकन्या स्टिलको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन छ। देशभर ९० वटा डिलर र ७ वटा डिपोमार्फत यसको वितरण सञ्जाल विस्तार गरिएको छ।

स्टिल कम्पनीको आम्दानी सन् २०२४ को ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँबाट बढेर २०२५ मा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो। यद्यपि सन् २०२३ मा यो ५ अर्ब ११ करोड रुपैयाँसम्म पुगेको थियो। जसअनुसार अझै पनि पूर्वस्तरमा पूर्ण पुनरुत्थान भएको देखिँदैन।

प्लास्टिक र पाइप सेग्मेन्टमा मिश्रित 

प्लास्टिक तथा पाइप उत्पादन गर्ने कम्पनीहरूको प्रदर्शन मिश्रित देखिएको छ। पञ्चकन्या प्लास्टिक इन्डष्ट्रीजले सन् २०२२ देखि घट्दो आम्दानीको प्रवृत्ति भोग्दै आए पनि गत वर्ष ८८ करोड २० लाखबाट बढेर ९८ करोड ३० लाख रुपैयाँमा पुगेको छ।

त्यस्तै पञ्चकन्या रोटोमोल्डको आम्दानी पनि ६६ करोड ७० लाख रुपैयाँबाट बढेर ७९ करोड ९० लाख रुपैयाँ पुगेको छ। पञ्चकन्या प्लास्ट कम्पनीले पनि ६४ करोडबाट बढेर ७९ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ।

वित्तीय सूचकमा सुधारको संकेत

ग्रुपको समग्र वित्तीय सूचकहरूमा केही सुधार देखिएको छ। नाफा क्षमता मापन गर्ने मार्जिन ७.९२ प्रतिशतबाट बढेर ९.६४ प्रतिशत पुगेको छ। त्यस्तै समग्र ऋण भार (गियरिङ) ३.९४ बाट घटेर ३.४३ गुणामा झरेको छ।

ब्याज तिर्न सक्ने क्षमता ०.८५ बाट बढेर १.२३ गुणा पुगेको छ, जसले वित्तीय दबाब केही घटेको संकेत गर्छ। तर ऋण-नगद प्रवाह अनुपात अझै पनि उच्च स्तरमै रहेको देखिन्छ।

ऋण रेटिङ तथा वित्तीय जोखिम

ग्रुपका कम्पनीहरूको कर्जा सुविधालाई लिएर रेटिङ संस्थाले ‘क्रेडिट वाच विथ पोजिटिभ इम्प्लिकेसन’ कायम राखेको छ। पञ्चकन्या स्टिलसहित तीन कम्पनीहरूको दीर्घकालीन तथा अल्पकालीन कर्जा सुविधामा विभिन्न रेटिङ तोकिएको छ।

पञ्चकन्या ग्रुपले आम्दानी पुनः वृद्धि गर्दै सुधारको बाटो समातेको देखिए पनि स्टिल व्यवसायमा उच्च निर्भरता, ऋणको चाप र विगतका गिरावटका प्रभाव अझै पूर्ण रूपमा हटिसकेका छैनन्।


प्रकाशित : आइतबार, जेठ १० २०८३१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend