आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

३ अर्ब ८१ करोडको लगानीमा  लुम्बिनीमा २ सय वेडको क्यान्सर अस्पताल निर्माण हुने

बुधबार, जेठ ६ २०८३
३ अर्ब ८१ करोडको लगानीमा  लुम्बिनीमा २ सय वेडको क्यान्सर अस्पताल निर्माण हुने

अस्पताल निर्माणका लागि ३ अर्ब ८१ करोड ८८ लाख ५० हजार १ सय ८४ रुपैयाँ लागत अनुमान गरिएको छ। लुम्बिनी क्यान्सर अस्पताल प्रालिले आफ्नै स्वामित्वमा रहेको १९ हजार ६ सय १६ वर्ग मीटर क्षेत्रफल रहेको जग्गा मध्ये २ हजार ५ सय ९९ वर्ग मिटर क्षेत्रफलमा संरचना निर्माण हुने जनाएको छ।

काठमाडौं- रुपन्देहीको सिद्धार्थनगरमा २ सय वेड क्षमताको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

अस्पताल निर्माणका लागि ३ अर्ब ८१ करोड ८८ लाख ५० हजार १ सय ८४ रुपैयाँ लागत अनुमान गरिएको छ। लुम्बिनी क्यान्सर अस्पताल प्रालिले आफ्नै स्वामित्वमा रहेको १९ हजार ६ सय १६ वर्ग मिटर क्षेत्रफल रहेको जग्गा मध्ये २ हजार ५ सय ९९ वर्ग मिटर क्षेत्रफलमा संरचना निर्माण हुने जनाएको छ।

अस्पतालका लागि निर्माण हुने भवनको उचाइ ३५ मिटर र एक वटा भूमिगत तलासहित आठ तलाको निर्माण हुने छ। सार्वजनिक भएको वातावरण प्रभाव मूल्यांकनमा विशेषज्ञ सेवा प्रदान गर्ने विशिष्टीकृत अस्पताल निर्माण हुनेछ।

कम्पनीको कुल पुँजी ६० करोड र जारी पुँजी २० करोडको हुने प्रालिले जनाएको छ। अस्पतालमा ७ वटा लिफ्ट रहने छ भने ह्वील चियर मैत्री संरचना र अपाङता मैत्री शौचालय समते निर्माण हुने रिपोर्टमा उल्लेख छ।

अस्पताल सञ्चालनमा आएपछि २ सय ८५ जनाले रोजगारी पाउने प्रालिले जनाएको छ। जसमा २ सय २० जना प्राविधिक जनशक्ति र प्रशासनिक तथा अप्राविधिक जनशक्ति ६५ जनाले रोजगारी पाउने छन्।

अस्पताल ३ वर्षमा निर्माण हुने रिपोर्टमा उल्लेख छ। प्रालिले स्वीकृतिका लागि पेस गरेको रिपोर्टमा तीव्र रुपमा जनसंख्या वृद्धि हुँदै गएको बुटवल र भैरहवा तथा लुम्बिनी प्रदेशको अन्य जिल्लाका नागरीकहरुलाई क्यान्सर उपचारमा सहज पहुँच पुऱ्याउने लक्ष्य राखेको छ। प्रालिले लुम्बिनी प्रदेश मात्र नभइ पुरै देशका क्यान्सर रोगीहरुको उपचारमा योगदान पुऱ्याउने लक्ष्य लिएको छ।

प्रत्येक १३ जना पुरुष मध्ये १ जना पुरुष र प्रत्येक १४ जना महिला मध्ये १ जना महिलालाई ७५ वर्ष पुग्नुभन्दा अगाडी क्यान्सरको सम्भावना रहेको विषयसमेत रिपोर्टमा उल्लेख गरिएको छ। लुम्बिनी क्यान्सर अस्पताल रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अञ्चलपुर, भैरहवा निर्माण गर्न लागिएको छ। 

अस्पताल भारतीय नाका सुनौलीदेखि करिब ७ किलोमिटर दुरीमा अवस्थित भएकाले भारतीय क्यान्सर बिरामीसमेत उपचार गराउन आउन सहज हुने प्रक्षेपण गरिएको छ। क्यान्सर रोगको उपचारका लागि प्रस्तावित अस्पतालमा दैनिक १०० देखी १५० जना क्यान्सरका बिरामीको प्रवाह हुने आंकलन गरिएको छ।


प्रकाशित : बुधबार, जेठ ६ २०८३११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend