काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामै देशमा रोजगारीका अवसर नपाउँदा वैदेशिक रोजगारीमा जाने युवाको सख्या ६ लाख ६१ हजारभन्दा बढी रहेको छ।
चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि बाहिरिएको युवाको संख्या गत आवको सोही अवधिको तुलनमा केही मात्रै कम हो। सरकारले एक महिनाभन्दा बढी समय खाडीका मुलुक जाने कामदारको श्रम स्वीकृति दिन बन्द गरेको थियो।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको १० महिनामा वैदेशिक रोजगारीका लागि भन्दै ६ लाख ६१ हजार ७ सय ६९ जना युवाले श्रम स्वीकृत लिएका छन्।
जुन गत आवको तुलनामा १४ हजारको हाहारीले कम हो। गत आवको सोही अवधि वैदेशिक रोजगारीका लागि भन्दै ६ लाख ८५ हजार ९ सय २४ जनाले जना युवाले श्रम स्वीकृत लिएका थिए।
विभाग अनुसार रोजगारीका बाहिरिने युवाहरु मध्ये ५ लाख ८२ हजार ९ सय ४६ जना पुरुष रहेका छन भने ७८ हजार ८ सय २३ जना महिला रहेका छन्।
बालेन नेतृत्वको सरकार बनपछि एक महिनामै सबैभन्दा बढी बाहिरिए
भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि फागनु २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछि झण्डै २ तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वका सरकार बनेको छ।
शाहले २०८२ को चैत १३ गते सपथ ग्रहण गरेका थिए। त्यसपछि नै चालु आवको १० महिना मध्ये सबैभन्दा बढी कामदार बैशाखमा रोजगारीका लागि बाहिरएका छन्।
विभाग अनुसार बैशाखमा मात्रै ७४ हजार ४ सय २९ जना युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। यो नै साउनदेखि बैशाखसम्ममा सबैभन्दा बढी कामदार बाहिरिएको महिना हो।
विभाग अनुसार चालु आवको १० महिनामा म्यानपार मार्फत नयाँ कामका लागि बाहिरिने युवाको संख्या २ लाख २३ हजार २ सय १५ रहेको छ भने विदामा आइ पुन रोजगारीकै लागि फर्कने युवाको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ।
कुन महिना कति बाहिरिए
| महिना | संख्या |
| साउन | ६८११० |
| भदौ | ६७९७२ |
| असोज | ६४६३४ |
| कात्तिक | ७३०९४ |
| मंसिर | ६५७०५ |
| पुस | ६२५५९ |
| माघ | ७०५०३ |
| फागुन | ५२९४४ |
| चैत | ६१८१९ |
| बैशाख | ७४४२९ |