बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नाइमाले भन्यो - ईभीको मोटर पावरबारे अनावश्यक व्याख्या गरियो

शनिबार, जेठ २ २०८३
नाइमाले भन्यो - ईभीको मोटर पावरबारे अनावश्यक व्याख्या गरियो

नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरुले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्।

काठमाडौं- नेपालमा विद्युतीय सवारी साधन (ईभी)को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न तवरमा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)को ध्यानाकर्षण भएको छ। 

यस विषयलाई नाइमाले यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलका क्रममा समेत उठाउँदै ईभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको धारणा राखेको थियो।

नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरुले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्। विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक-फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो। त्यसैले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रुपमा विश्वनीय आधार मान्न नसकिने नाइमाले बताएको छ। 

हाल नेपालमा ईभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन। यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक-फरक व्याख्या उत्पन्न गरिरहेको देखिन्छ। ‘ईभी सवारी साधनको प्राविधिक मूल्या्रकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्दछ,' नाइमाले भनेको छ, ‘सम्बन्धित सरकारी निकायहरुबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु आवश्यक छ।’

विद्युतीय सवारी साधन नेपालको स्वच्छ उर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्दधन गर्ने महत्वपूर्ण माध्यमका रुपमा स्थापित हुँदै गइरहेको छ। ईभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ उर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र उर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको छ। राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रुपमा जोडिएको यस क्षेत्रसँग सम्बन्धित विषयहरुलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै मूल्यांकन गरिनु आवश्यक रहेको नाइमाको भनाइ छ।

विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरुलाई प्रयाप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै विश्लेषण गरिनु आवश्यक रहेको नाइमाको धारणा छ। ‘अपुष्ट सूचना वा फरक-फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सृजना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने देखिन्छ,’ नाइमाले भनेको छ, ‘यस सन्दर्भमा नाइमाले सरकार तथा सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिवद्धता व्यक्त गर्दछ।’

नाइमा नेपालका ओटोमोबाइल आयातकर्ता तथा उत्पादकहरुको एकीकृत साझा मञ्च हो, जसले 'सबैका लागि गतिशीलता'को अवधारणालाई आत्मसात गर्दै सरकार तथा निजी क्षेत्रसँग निकट सहकार्यमा रही गतिशीलतामार्फत आर्थिक वृद्धि, औद्योगिक विकास तथा समावेशी पहुँच विस्तारका लागि सक्रिय रुपमा कार्य गरिरहेको छ।


प्रकाशित : शनिबार, जेठ २ २०८३१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend