काठमाडौं- विश्वकै ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रभावका कारण विश्वव्यापी सेमिकन्डक्टर बजार सन् २०३० सम्ममा १५ खर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ।
कम्पनीले यसअघि उक्त अवधिमा सेमिकन्डक्टरको बजार १० खर्ब डलरको हुने अनुमानलाई परिमार्जन गर्दै प्रविधि क्षेत्रमा आएको नयाँ परिवर्तनले बजारको आकार सोचेभन्दा निकै ठूलो हुने देखिएकफ बताएको छ।
यसैसाता आयोजित एक प्राविधिक गोष्ठीमा प्रस्तुत विवरण अनुसार भविष्यको यो ठूलो बजारमा एआई र उच्च प्रदर्शन गर्ने कम्प्युटिङ (एचपीसी)को हिस्सा ५५ प्रतिशत रहनेछ। त्यस्तै स्मार्टफोनले २० प्रतिशत र अटोमोटिभ क्षेत्रले १० प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ।
सन् २०२२ देखि २०२६ को बीचमा मात्रै एआईतर्फको वेफरको माग ११ गुणाले बढ्ने देखिएपछि टीएसएमसीले आफ्नो उत्पादन क्षमतालाई समेत तीव्र गतिमा बढाउन थालेको छ।
कम्पनीका अनुसार सन् २०२६ मा मात्रै नौ वटा विभिन्न चरणका 'वेफर फ्याब' र अत्याधुनिक प्याकेजिङ सुविधाहरू निर्माण गरिनेछ। विशेषगरी २-नेनोमिटर र आगामी पुस्ताको 'ए१६' चिप्सको उत्पादनमा कम्पनीले जोड दिएको छ। जसको वृद्धिदर सन् २०२६ देखि २०२८ सम्म वार्षिक ७० प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
एनभिडिया जस्ता ठूला कम्पनीका एआई चिपमा प्रयोग हुने 'कोवोस' प्याकेजिङ प्रविधिको क्षमतालाई पनि सन् २०२७ सम्म वार्षिक ८० प्रतिशतका दरले विस्तार गर्ने टीएसएमसीको योजना रहेको छ।
आफ्नो विश्वव्यापी उपस्थितिलाई बलियो बनाउन टीएसएमसीले अमेरिकाको एरिजोनामा तीव्र गतिमा काम गरिरहेको छ। त्यहाँको पहिलो प्लान्टले उत्पादन सुरु गरिसकेको छ भने सन् २०२६ सम्ममा एरिजोनाको कुल उत्पादनमा झन्डै दुई गुणाले वृद्धि हुने र त्यसको गुणस्तर ताइवानकै स्तरको हुने दाबी गरिएको छ।
साथै जापानमा उच्च मागका कारण दोस्रो फ्याबलाई ३-नेनोमिटर प्रविधिमा स्तरोन्नति गरिएको छ भने जर्मनीमा पनि निर्माण कार्य पूर्वनिर्धारित तालिका अनुसार नै अघि बढिरहेको छ। यो विस्तारले विश्वभर बढ्दो चिप अभावलाई कम गर्ने र एआई क्रान्तिलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
विश्वका पाँच ठूला चिप निर्माता कम्पनी
१. टिएसएमसी
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसआएसी ताइवानमा मुख्यालय रहेको यो कम्पनी विश्वकै सबैभन्दा ठूलो 'कन्ट्र्याक्ट चिपमेकर' हो। यसले आफ्नै ब्रान्डमा भन्दा एप्पल, एनभिडिया र एएमडी जस्ता ठूला कम्पनीहरूका लागि चिप उत्पादन गरिदिन्छ। विश्वको सबैभन्दा उन्नत (जस्तै ३-नेनोमिटर र २-नेनोमिटर) प्रविधिमा टीएसएमसीको एकलौटी जस्तै पकड छ। विश्वका ९० प्रतिशतभन्दा बढी अत्याधुनिक चिप्स यही कम्पनीले बनाउँछ।
२. एनभिडिया
अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको एनभिडिया हाल विश्वको सबैभन्दा मूल्यवान चिप कम्पनी बनेको छ। सुरुमा गेमिङका लागि ग्राफिक्स कार्ड (जीपीयू) बनाउने यो कम्पनी अहिले 'एआई रिभोलुसन' को केन्द्रमा छ। यसका चिप्सहरू डाटा सेन्टर र एआई मोडलहरू (जस्तै च्याटजीपीटी) चलाउन अनिवार्य मानिन्छन्। यसको बजार पुँजीकरणले हालैका वर्षहरूमा ठूला प्रविधि कम्पनीहरूलाई समेत उछिनेको छ।
३. सामसुङ इलेक्ट्रोनिक्स
दक्षिण कोरियाली यो कम्पनी मेमोरी चिप्स उत्पादनमा विश्वकै अग्रणी हो। टीएसएमसीपछि यो विश्वको दोस्रो ठूलो कन्ट्र्याक्ट उत्पादक पनि हो। सामसुङले स्मार्टफोनदेखि घरेलु उपकरणसम्म प्रयोग हुने चिप्स आफैँ बनाउँछ र अन्य कम्पनीहरूलाई पनि आपूर्ति गर्छ। यसले अहिले टीएसएमसीलाई अत्याधुनिक चिप उत्पादनमा चुनौती दिइरहेको छ।
४. इन्टेल
दशकौँसम्म चिप बजारमा राज गरेको अमेरिकी कम्पनी इन्टेल अझै पनि व्यक्तिगत कम्प्युटर (पीसी) र ल्यापटपका प्रोसेसर उत्पादनमा विश्वको ठूलो नाम हो। धेरैजसो कम्पनीहरूले चिप डिजाइन मात्र गर्छन् तर इन्टेलको आफ्नै ठूला उत्पादन कारखानाहरू छन्। हाल यो कम्पनीले अरूका लागि पनि चिप बनाइदिने 'फाउन्ड्री' सेवामा ठूलो लगानी गरिरहेको छ।
५. ब्रोडकम
ब्रोडकम मुख्यतया सञ्चार र कनेक्टिभिटी चिप्सका लागि प्रसिद्ध छ। एप्पलका आइफोनदेखि ठूला डेटा सेन्टरका नेटवर्क उपकरणहरूमा यसका चिप्स प्रयोग हुन्छन्। वाइफाइ, ब्लुटुथ, र नेटवर्किङ प्रविधिमा यसको प्रभुत्व छ। सफ्टवेयर र हार्डवेयर दुवै क्षेत्रमा यसको उपस्थिति बलियो छ।