काठमाडौं- सरकारले २०६८/६९ मा देशको दीर्घकालीन पूर्वाधार विकासका लागि घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू अझै पनि अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्।
महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सडक, जलविद्युत, सिँचाइ, विमानस्थल, खानेपानी तथा अन्य पूर्वाधार समेटिएका २७ आयोजनामध्ये धेरैजसो निर्माणाधीन छन् भने केही सम्पन्न भए पनि लागत र समय दुवैमा उल्लेखनीय विचलन देखिएको छ। हालसम्म २ खर्ब ४ अर्ब रुपैयाँ खर्च भएको छ।
यी आयोजनामा प्रारम्भिक अनुमानभन्दा अर्बौँ रुपैयाँ बढी खर्च भइसकेको छ भने कतिपय परियोजनाहरू दशकौँदेखि निर्माणाधीन अवस्थामै सीमित छन्।
देशकै ठूलो जलविद्युत आयोजनामध्ये एक मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न भइसकेको छ। यसको संशोधित लागत ४८ अर्ब २९ करोड रुपैयाँ रहेकोमा हालसम्म ५२ अर्ब ९८ करोड रुपैयाँ खर्च भइसकेको छ।
अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संशोधित लागत ३० अर्ब ९१ करोड रुपैयाँ रहेकोमा हालसम्म २९ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत २४ अर्ब ८६ करोड रुपैयाँ रहेकोमा २४ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ।
सडक पूर्वाधारतर्फ सबैभन्दा ठूलो आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लागत ८४ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा ७२ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ। हुलाकी लोकमार्गको लागत १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा ७१ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ।
कालीगण्डकी कोरिडोर सडक आयोजनाको लागत ३५ अर्ब ७९ करोड रुपैयाँ रहेकोमा २२ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ। कोशी कोरिडोर सडक आयोजनाको लागत १६ अर्ब २० करोड रुपैयाँ रहेकोमा ६ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ। कर्णाली कोरिडोर सडक आयोजनाको लागत १८ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा ३ अर्ब २९ करोड रुपैयाँ खर्च भएको छ।
सिँचाइ आयोजनातर्फ रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागत २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ रहेकोमा २१ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ।
सिक्टा सिँचाइ आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा २२ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ। बबई सिँचाइ आयोजनाको लागत १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ रहेकोमा १५ अर्ब ८० करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको छ।
महाकाली सिँचाइ आयोजनाको लागत ३५ अर्ब रुपैयाँ रहेकोमा ९ अर्ब ५८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा ६७ अर्ब ११ करोड रुपैयाँ) खर्च भइसकेको छ।
लुम्बिनी विकास कोषको लागत १३ अर्ब २६ करोड रुपैयाँ रहेकोमा ८ अर्ब ७५ करोड रुपैयाँ) खर्च भएको छ। विद्युत प्रसारण आयोजनाको लागत ६ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा ९८ करोड १५ लाख रुपैयाँ खर्च भएको छ।
जलविद्युत तथा बहुउद्देश्यीय आयोजनातर्फ बुढीगण्डकी जलविद्युत आयोजनामा हालसम्म १८ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ। सुनकोशी-मरिन डाइभर्सन आयोजनाको लागत ३९ अर्ब ८० करोड २ लाख रुपैयाँ ४५ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ, जसले लागत अनुमानभन्दा बढी खर्च भएको देखाउँछ।
भेरी-बबई डाइभर्सन आयोजनाको लागत ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ १६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ। विमानस्थलतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागत १ खर्ब ६५ अर्ब रुपैयाँ रहेकोमा १ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो आयोजना अझै सुरु हुन सकेको छैन।
मेलम्ची खानेपानी आयोजनाको लागत २८ अर्ब ७९ करोड रुपैयाँ रहेकोमा ३२ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ। दोस्रो चरणको प्रगति करिब १२.४७ प्रतिशतमा सीमित छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कुल खर्च रुपैयाँ ६७ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लुम्बिनी विकास कोषमा ८ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ।