काठमाडाैं- यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो खुला भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ३० गते बिहान १० बजेर २५ मिनेटमा बजे डोरी टाँग्ने काम सम्पन्न भएको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, खुम्बु आइसफल खण्डको व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र सोभन्दा माथि चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाललाई दिइएको थियो।
भौगोलिक जटिलता र प्रतिकूल मौसमका बाबजुद आइसफल डाक्टर र अनुभवी पथप्रदर्शकहरूको टोलीले यो महत्वपूर्ण कार्य सम्पन्न गरेको छ।
बाटो खोल्ने कार्यमा खटिएका आइसफल डाक्टरहरूमा आङ सार्की शेर्पा, दावा जाङ्बु शेर्पा, तेन्दु शेर्पा, ङिमा तेन्जी शेर्पा, फुरा छेतेन शेर्पा, दावा छिरि शेर्पा, सोनाम गेलजेन शेर्पा र मिङ्मा ग्याल्जेन शेर्पा रहेका छन्।
त्यसैगरी, क्याम्प-२ देखि चुचुरोसम्म डोरी टाँग्ने कार्यमा मिङ्मा दोर्ची शेर्पा, पासाङ तासी शेर्पा, लोप्साङ भोटिया, मिङ नर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पेम दोर्जी शेर्पा, मिङ्मा तेन्जे शेर्पा, मिङ तेम्बा शेर्पा, देन्डी शेर्पा र पासाङ नर्बु शेर्पा रहेको विभागले जनाएको छ।