शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

उत्तर-दक्षिण कोशी राजमार्ग : सेनाद्वारा च्याम्ताङ-घोंगप्पा साढे १० किलोमिटर सडक हस्तान्तरण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २९ २०८३
उत्तर-दक्षिण कोशी राजमार्ग : सेनाद्वारा च्याम्ताङ-घोंगप्पा साढे १० किलोमिटर सडक हस्तान्तरण

कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ।

काठमाडौं- संखुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ-घोंगप्पा सडक निर्माण सम्पन्न भएको छ।

राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो। भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांकाको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो।

खाँदबारी-किमाथांका सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर-दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरिएको हो। सेनाले जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबहादुर सिंहले बताए।

सडक निर्माण सुरु भएको करिब पाँच वर्षपछि सेनाले उक्त सडकखण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख सिंहले बताए। सडक हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोख्रेल र प्रेमप्रसाद न्यौपाने सडक उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङसहितको उपस्थिति रहेको थियो।

सेनाले २०७७ फागुन २४ गते च्याम्ताङ-घोंगप्पा सडक निर्माण सुरु गरेको थियो। सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ।

उत्तर-दक्षिण (कोशी) सडक योजनाका प्रमुख गुरुडले कठिन भूगोल, विकट वातावरण र प्राविधिक चुनौतीबीच सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताए। सेनाले सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढङ्गबाट जिम्मेवारी पूरा गरेको हो।

खाँदबारी-किमाथांका सडकखण्डको १६२ किलोमिटरमध्ये १० दशमलव ८१ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो। कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ।

किमाथांका-जोगबनी खण्ड छिमेकी देश चीन-भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो।

किमाथांका-जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ।

सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ। खाँदबारी-किमाथांका सडक निर्माणमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend