शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जेएसडब्लू एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेसनबीच रणनीति साझेदारी : थापाथलीमा शोरुम, यस्तो छ कोमेट र विन्डसरको मूल्य

सोमबार, वैशाख २८ २०८३
जेएसडब्लू एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेसनबीच रणनीति साझेदारी : थापाथलीमा शोरुम, यस्तो छ कोमेट र विन्डसरको मूल्य

शोरुम उद्घाटनसँगै कम्पनीले एमजी कमेट ईभी १८ लाख ७५ हजार र एमजी विन्डसर ईभी ३९ लाख ७५ हजार रुपैयाँ प्रारम्भिक मूल्यमा बिक्रीका लागि उपलब्ध गराएको छ।

काठमाडौं- जेएसडब्लू एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँग रणनीतिक वितरण साझेदारी गर्दै काठमाडौंको थापाथलीमा आधिकारिक डिलरसिप सञ्चालनमा ल्याएको छ। 

शोरुम उद्घाटनसँगै कम्पनीले एमजी कमेट ईभी १८ लाख ७५ हजार र एमजी विन्डसर ईभी ३९ लाख ७५ हजार रुपैयाँ प्रारम्भिक मूल्यमा बिक्रीका लागि उपलब्ध गराएको छ। यो मूल्य सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ।

नयाँ शोरुममा एमजी कमेट र एमजी विन्डसरसहित कम्पनीका प्रमुख मोडलहरू प्रदर्शनमा राखिएका छन्। कम्प्याक्ट सहरी विद्युतीय सवारीदेखि प्रिमियम एसयूभीसम्मका विकल्पहरू एकै छनामुनि उपलब्ध गराउनु यस डिलरसिपको मुख्य विशेषता रहेको कम्पनीको भनाइ छ। ग्राहकहरूले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त सवारी छनोट गर्न सक्ने वातावरण तयार गरिएको कम्पनीले दाबी गरेको छ।

डिलर प्रिन्सिपल आकाश गोल्छाले यो साझेदारीलाई नेपाली बजारका लागि महत्वपूर्ण अवसर भएको बताए। 'जेएसडब्लू एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरसिप तयार गरिएको छ,' गोल्छाले थपे, 'प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खान्। नेपाली बजारमा एमजी ब्रान्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्नु हाम्रो लक्ष्य हो।'

यस साझेदारीमार्फत एमजीले बिक्रीपछिको सेवा र देशव्यापी सञ्जाल विस्तारमा विशेष जोड दिने जनाएको छ। ग्राहकहरूलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्न बलियो स्थानीय उपस्थिति र प्रभावकारी ग्राहक सहयोग विकास गरिने कम्पनीको योजना छ।

नेपालमा विद्युतीय सवारीप्रतिको माग तीव्र गतिमा बढ्दै गएको सन्दर्भमा एमजीले यो बजारलाई रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानेको छ। स्मार्ट तथा दिगो गतिशीलता समाधानप्रति नेपाली उपभोक्ताको चासो र ग्राहक अपेक्षामा आएको सकारात्मक परिवर्तनलाई कम्पनीले अवसरका रूपमा लिएको छ। नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनलाई एकसाथ अगाडि बढाउँदै एमजीले नेपालको गतिशीलता भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।

सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशनअन्तर्गतको जीओ अटोमोबाइल्स प्रालि नेपालको अटोमोबाइल क्षेत्रमा दशकौँदेखि सक्रिय छ। देशव्यापी बलियो सञ्जाल र नेपाली बजारप्रतिको गहिरो बुझाइका आधारमा कम्पनीले विश्वविश्वसनीय अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै आएको छ।

अर्कातिर एमजी सन् १९२४ मा बेलायतमा स्थापना भएको ऐतिहासिक ब्रान्ड हो। आफ्नो स्पोर्ट्स कार, रोडस्टर र क्याब्रियोलेट सिरिजका कारण विश्वभर परिचित यो ब्राण्डका गाडीहरू बेलायती प्रधानमन्त्रीदेखि शाही परिवारसम्मका व्यक्तिहरूमाझ लोकप्रिय रहँदै आएका छन्। विगत सय वर्षमा एमजी आधुनिक, भविष्यमुखी र नवप्रवर्तनशील ब्राण्डका रूपमा विकसित भएको छ। 

हाल भारतको गुजरातस्थित हलोलमा रहेको अत्याधुनिक उत्पादन केन्द्रमा वार्षिक एक लाखभन्दा बढी सवारीसाधन उत्पादन गर्ने क्षमता रहेको छ भने ६ हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ। विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको एमजी ग्लोबल फर्चुन ५०० कम्पनी एसएआईसी मोटर र भारतको अग्रणी व्यावसायिक समूह जेएसडब्लू ग्रुपको संयुक्त साझेदारीमा सञ्चालित छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend