शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

टर्किस एयरलाइन्सको जहाजमा आगो देखिनुअघि ल्यान्डिङ गेयरबाट चुहिएको थियो लुब्रिकेन्ट

सोमबार, वैशाख २८ २०८३
टर्किस एयरलाइन्सको जहाजमा आगो देखिनुअघि ल्यान्डिङ गेयरबाट चुहिएको थियो लुब्रिकेन्ट

घटनापछि जहाजलाई टगमार्फत पार्किङ वेमा सारिएको थियो। यस क्रममा विमानस्थल करिब १ घण्टा २७ मिनेट आंशिक रूपमा प्रभावित बनेको थियो।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा सोमबार बिहान पछाडिको ल्यान्डिङ गेयरमा आगो देखिएको थियो। जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। 

प्रारम्भिक अध्ययनअनुसार अवतरण प्रक्रिया सामान्य रहे पनि पछाडिको ल्यान्डिङ गेयरको हाइड्रोलिक प्रणालीमा प्राविधिक समस्या देखिएको थियो। सोही प्रणालीमा प्रयोग हुने लुब्रिकेन्ट चुहिएको (लिक) भएको हुन सक्ने र अवतरणपछि ब्रेक लगाउने क्रममा उत्पन्न अत्यधिक घर्षणका कारण आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको विमाानस्थल स्रोतले जानकारी दिएको छ।

इस्तानबुलबाट काठमाडौं आएको उक्त जहाजमा २७७ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए। प्राप्त विवरणअनुसार बिहान ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको जहाजको पछाडि आगो देखिएपछि तत्कालै रनवेमै रोकेर आपतकालीन ढोका खोलिएको थियो। त्यसपछि सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ।

घटनापछि जहाजलाई टगमार्फत पार्किङ वेमा सारिएको थियो। यस क्रममा विमानस्थल करिब १ घण्टा २७ मिनेट आंशिक रूपमा प्रभावित बनेको थियो।

घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित एयरलाइन्सका प्राविधिक टोलीले विस्तृत अनुसन्धान गरिरहेका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणले घटनाको वास्तविक कारण प्राविधिक परीक्षणपछि मात्र औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

उक्त जहाज टर्किस एयरलाइन्सको नियमित उडानअन्तर्गत काठमाडौं आएको हो। 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend