शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

समकालीन वाणिज्यका मुद्दामा मेगा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

आइतबार, वैशाख २७ २०८३
समकालीन वाणिज्यका मुद्दामा मेगा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं- समकालीन वाणिज्यका विविध मुद्दामाथि केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा आयोजना हुने भएको छ। नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेजले जेठ १ र २ गते सम्मेलन गर्न लागेको हो।

सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग सम्बन्धित विषयमा विज्ञहरूले प्रवचन तथा कार्यपत्र प्रस्तुति दिने कार्यक्रम रहेको छ। आयोजकका अनुसार नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीहरूको सहभागिता रहनेछ।

मेगा कलेजका प्राचार्य डा. घनश्यामप्रसाद साहले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विस्तार, दिगो विकासको आवश्यकता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण व्यापार र व्यवस्थापन क्षेत्रमा देखिएका चुनौती तथा सम्भावनामाथि सम्मेलनमा गहिरो छलफल हुने बताए।

उनका अनुसार सम्मेलन उद्योग, व्यापार र वाणिज्य क्षेत्रमा विकसित भइरहेका विश्वव्यापी प्रवृत्तिको अध्ययन गर्न, नेपालले अवलम्बन गर्नुपर्ने नीतिगत ढाँचा तयार पार्न तथा अनुसन्धानमूलक ज्ञान अभिवृद्धि गर्न उपयोगी हुने अपेक्षा गरिएको छ। अर्थतन्त्र तथा व्यवस्थापनका विद्यार्थीदेखि विज्ञसम्मले सम्मेलनबाट प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ।

यसअघि मेगा कलेजले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो।

यसपटकको सम्मेलनमा रणनीतिक व्यवस्थापन तथा नेतृत्व, डिजिटल रूपान्तरण र नवप्रवर्तन, बजार व्यवस्थापन तथा उपभोक्ता व्यवहार, वित्त तथा दिगोपन, उद्यमशीलता र साना तथा मझौला उद्योग, मानव संसाधन व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक नीति, हरित अर्थतन्त्र र जिम्मेवार व्यवसाय, कर तथा कानुनी पक्षलगायत विषयमा शोधपत्र तथा कार्यपत्र प्रस्तुत गरिनेछ।

सम्मेलनबाट विशेषगरी अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी–व्यवसायी, नीति निर्माता तथा स्नातकोत्तर तहका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ। सहभागीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गर्न, अन्तर्राष्ट्रिय अनुभव भएका विज्ञहरूसँग अन्तरक्रिया गर्न तथा सहकार्यका नयाँ अवसर खोज्न सक्ने आयोजकले जनाएको छ।

सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको व्यापार तथा व्यवस्थापन शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक गर्न, नीतिगत सुधारका लागि आधार तयार गर्न तथा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend