काठमाडौं- न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्।
अब संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा शर्मा ३३ औँ प्रधानन्यायाधीश बन्नेछन्। उनी पूरै कार्यकाल प्रधानन्यायाधीश रहनेछन्।
कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो।
सन् १९७० मा वीरगन्जमा जन्मिएका शर्माले प्रारम्भिक कानूनी शिक्षा नेपाल ल क्याम्पसबाट बीएल पूरा गरेका थिए। त्यसपछि उनले भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि हासिल गरे भने त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गरेका छन्।
न्यायिक क्षेत्रमा उनको औपचारिक प्रवेश पुनरावेदन अदालतबाट भएको हो। उनी सन् २०१३ जुन १० देखि २०१५ डिसेम्बर १२ सम्म अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत रहे। उक्त अवधिमा उनले विभिन्न प्रकृतिका मुद्दाहरूमा निर्णय गर्दै न्यायिक अनुभव संगाले।
शर्मालाई सन् २०१९ अप्रिल १९ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको थियो।