शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारतमा हुन्डाईको ३० वर्ष : १ करोड ३५ लाख कार बिक्री, ३९ लाख कार निर्यात

बुधबार, वैशाख २३ २०८३
भारतमा हुन्डाईको ३० वर्ष : १ करोड ३५ लाख कार बिक्री, ३९ लाख कार निर्यात

हुन्डाईले भारतको आन्तरिक बजारमा ४ खर्ब ७० अर्ब भारुभन्दा बढी सञ्चित लगानी गरिसकेको छ।

काठमाडौं- दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले भारतमा आफ्नो ३० वर्ष पूरा गरेको गरेको छ। यस अवसरमा कम्पनीले सन् २०३० सम्ममा २६ वटा नयाँ कार र फेसलिफ्ट मोडल सार्वजनिक गर्ने योजना बनाएको छ।

हुन्डाई मोटर इन्डिया लिमिटेड स्थापना भएको आज ठ्याक्कै तीन दशक पुगेको छ। सन् १९९६ मा चेन्नई नजिकैको श्रीपेरुम्बुदुरमा पहिलो प्लान्ट स्थापना गरेको थियो। त्यसयता हालसम्म हुन्डाईले भारतमा १ करोड ३५ लाख वटा कार बिक्री गरिसकेको छ। 

त्यस्तै हुन्डाईले भारतमा उत्पादन गरेका कार विश्वका १ सय ५० देशहरूमा निर्यात गर्दै आएको छ। यी देशहरुमा भारतमा बनेका ३९ लाख वटा सवारी साधनको निर्यात भइसकेका छन्।

यससँगै हुन्डाई भारतबाट सबैभन्दा बढी प्यासेन्जर कार निर्यात गर्ने कम्पनी बनेको छ। साउदी अरब, दक्षिण अफ्रिका, मेक्सिको, चिली, पेरु र नेपाल यसका प्रमुख निर्यात बजार हुन्। यी बजारहरुमा भर्ना, ग्राण्ड आईटेन नियोस क्रेटा र औराको हिस्सा सबैभन्दा बढी छ। 

हुन्डाईले भारतको आन्तरिक बजारमा ४ खर्ब ७० अर्ब भारुभन्दा बढी सञ्चित लगानी गरिसकेको छ।

भारतबाट हुन्डाईको निर्यात माइलस्टोन लगातार बढ्दो क्रममा छ। सन् २००८ सम्म ५ लाख कार निर्यात गरेको कम्पनीले २०१० मा पुग्दा निर्यात १० लाख पुर्‍याएको थियो। २०१४ सम्म २० लाख कार निर्यात गरेको हुन्डाईले २०२० सम्ममा ३० लाख र २०२६ सम्ममा ३९ लाख कार निर्यात गरेको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

सन् १९९८ मा कोरिया बाहिर हुन्डाईको पहिलो एकीकृत सुविधाको रूपमा सुरु भएको चेन्नई प्लान्ट अहिले ब्रान्डको सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी उत्पादन केन्द्रहरूमध्ये एक बनेको छ।

भारतको पुने नजिकैको तलेगाउँ प्लान्ट २०२५ मा सञ्चालनमा आएपछि अब यी दुई प्लान्टहरूको संयुक्त वार्षिक उत्पादन क्षमता ९.९४ लाख पुगेको छ। सो क्षमतालाई २०२८ सम्म १० लाख ७४ हजार वटा पुर्‍याउने लक्ष्य राखिएको छ।

भारतमा हुन्डाईका उत्पादनहरूमा औसत ८२ प्रतिशत 'लोकालाइजेशन' (स्वदेशी पार्टपुर्जाको प्रयोग) रहेको छ। जसले तीन दशकमा आन्तरिक आपूर्ति श्रृंखलालाई बलियो बनाएको छ।

बिक्री र सेवा सञ्जाल पनि सोही अनुसार विस्तार भएको हुन्डाई मोटर इन्डियाले जनाएको छ। हाल भारतभर ११ सयभन्दा बढी सहरहरूमा १५ सयभन्दा बढी बिक्री केन्द्रहरू छन्, जसले भारतका ७८ प्रतिशत जिल्लाहरूमा पुगेको देखिन्छ।

सेवातर्फ १ हजार २५ सहरहरूमा १६ सय ७५ सर्भिस पोइन्टहरू, १ सय ६२ मोबाइल सर्भिस भ्यान र ५० हजारभन्दा बढी दक्ष जनशक्ति रहेका छन्। ब्रान्डको 'नेट प्रोमोटर स्कोर' ९१.५ प्रतिशत छ र हालसम्म ३२ लाखभन्दा बढी एक्स्टेन्डेड वारेन्टी पोलिसीहरू बिक्री भइसकेका छन्।

आरई १०० अभियान अन्तर्गत हुन्डाईको सबै कार्यालय र प्लान्टहरू १०० प्रतिशत नवीकरणीय ऊर्जाबाट चल्छन्। चेन्नई प्लान्टको ८० प्रतिशत पानीको आवश्यकता वर्षाको पानी संकलनबाट पूरा हुनेगरी पूर्वाधार बनाइएको कम्पनीले जनाएको छ। 

कम्पनीले विगत पाँच वर्षमा ३ सय ५० भन्दा बढी ऊर्जा दक्षता आयोजनाहरू लागु गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हुन्डाईले सन् २०१४ देखि ८ अर्ब भारुभन्दा बढी लगानी गरेको छ। 

हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२६ देखि २०३० सम्मका लागि उत्पादन विस्तार, विद्युतीकरण र भावी मोबिलिटीलाई समेट्ने गरी ४ खर्ब ५० अर्ब भारु लगानी योजना ल्याएको छ।

यसका साथै सन् २०३० सम्म २६ नयाँ उत्पादन र भेरियन्टहरू ल्याउने तयारी छ। प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति बलिलो बनाउन र उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेगरी नयाँ उत्पादन ल्याउने कम्पनीको भनाइ छ। 

नेपाली बजारमा हुन्डाईका कार लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात गर्दै आएको छ। नेपालमा आउने अधिकांश कार जस्तै हुन्डाई क्रेटा आईटेन भेन्यूलगायत भारतीय बजारबाट नै  आउने गरेको छ। लक्ष्मी समूहले हुन्डाई क्रेटा र भेन्यू भने नेपालमा एसेम्बल गर्दै आएको छ।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend