शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार

बुधबार, वैशाख २३ २०८३
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार

संवैधानिक परिषद्को बैठकमा चार जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था नयाँ अध्यादेशमार्फत गरिएको छ।

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ बैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

संवैधानिक परिषद्को बैठकमा चार जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था नयाँ अध्यादेशमार्फत गरिएको छ। मंगलबार जारी भएको  संवैधानिक परिषद सम्बन्धी अध्यादेशले यस्तो व्यवस्था गरेको हो। 


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend