शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सातै प्रदेशमा कृषि गणना गरिँदै, किसानको घरमा पुगेर तथ्यांक संकलन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
सातै प्रदेशमा कृषि गणना गरिँदै, किसानको घरमा पुगेर तथ्यांक संकलन

महत्वाकांक्षी परियोजनाका रूपमा सञ्चालन गरिएको यो कार्यक्रममा मन्त्रालयले सुपरिवेक्षकलाई तालिम दिने र सुपरिवेक्षकले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ।

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ।

सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको जनाएको छ। गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्यांक संकलन गरेका छन्। तथ्यांक प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्यांकका आधारमा कृषि क्षेत्रको विकासका लागि आवश्यक राष्ट्रिय नीति नियम बनाउन तथा त्यसलाई कार्यान्वयनमा लैजान सहयोग पुग्ने जानकारी दिए।

पहिलो चरणमा स्थानीय तहका कृषि प्राविधिक किसानको घरदैलोमा पुगेर कृषिमा कृषकको पहुँच, मलबिउको प्रयोग, मूल्य भण्डारणको संरचना, सिँचाइको प्रयोग, प्रविधिको प्रयोग, वित्तीय पहुँच, कृषि सेवा पहुँच, बिमा, कृषि पशुको उत्पादनको अवस्थालगायतका विषयमा प्रश्न सोधेर तथ्यांक संकलन गरिने जनाइएको छ।

दोस्रो चरणमा प्राप्त तथ्यांकलाई विश्लेषण गरी कृषिको आधिकारिक तथ्यांक परिणाम निकालिने छ। महत्वाकांक्षी परियोजनाका रूपमा सञ्चालन गरिएको यो कार्यक्रममा मन्त्रालयले सुपरिवेक्षकलाई तालिम दिने र सुपरिवेक्षकले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ।

दोस्रो चरणको काम सुरु गर्न पहिलो चरणको काम अनिवार्य सम्पन्न गर्नुपर्ने वरिष्ठ अधिकृत रेग्मीले जानकारी दिए। 


प्रकाशित : सोमबार, वैशाख २१ २०८३१६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend