काठमाडौं- उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। आउँदो साउन दोस्रो हप्ताबाट सुरुङ मार्ग सञ्चालन गर्ने तयारी भएको छ।
आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको छ। वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनको लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए।
सुरुङ मार्ग सञ्चालन गर्न पाँच वर्षको लागि चिनियाँ कम्पनी युसिन-एआरटी जेभीलाई पाँच वर्षको लागि दिइएको छ। सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराए।
सुरुङ मार्ग निर्माण ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको छ। आयोजनाका निर्देशक नेपालका अनुसार २०१९ सेप्टेम्बर २३ बाट सुरु भएको परियोजना २०२६ अप्रिल २५ सम्म म्याद थप गरिएको थियो। करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको उनले जानकारी दिए।
सुरुङमार्ग अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण भएको आयोजनाका निर्देशक नेपालले जानकारी दिए। सुरुङमार्गभित्र अत्यधुनिक प्रविधिहरू जडान गरिएको छ।
पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, भेन्टिलेसन प्रणाली (सवारी चापअनुसार स्वचालित) र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको उनले जानकारी दिए।
साथै आपतकालीन अवस्थामा सूचना दिन ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ।
‘हाम्रो करिब २२ अर्बको आयोजना हो। २२ अर्बमध्ये १६ अर्ब कन्स्ट्रक्सन कस्ट र ६ अर्ब ल्याण्ड एक्विजिसनमा खर्च भएको छ। अहिलेसम्म करिब ९९ प्रतिशत नै फिजिकल प्रोग्रेस भनौँ, अब यो पनि लगभग सम्पन्न नै भइसकेको छ। केही सामान्य माइनर आउटस्ट्यान्डिङ कामहरू मात्रै बाँकी रहेको छ भने वित्तीय प्रगति हामी अहिले ९६ प्रतिशतमा छौँ' उनले भने।
कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपतकालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो। यी दुई सुरुङलाई हरेक ३७५ मिटरमा आपसमा जोड्ने व्यवस्था गरिएको छ। यसले आकस्मिक अवस्थामा सुरक्षित निकासको सुविधा प्रदान गर्नेछ।
मुख्य सुरुङमार्ग ११ मिटर चौडा रहेको छ, जसमा विपरीत दिशातर्फ चल्ने सवारीका लागि ३.५/३.५ मिटरका दुई लेन र बीचमा करिब १.५ मिटरको दूरी छुट्याइएको छ। आपतकालीन सुरुङमार्गको लम्बाइ करिब २.५ किलोमिटर रहेको छ भने यसको चौडाइ र उचाइ मुख्य सुरुङभन्दा कम छ। यो सुरुङ आपतकालीन अवस्था मात्र प्रयोग गरिने छ।
जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका थिए।
सुरुङमार्ग सञ्चालनको लागि १५० जनाको जनशक्ति चौबिसै घण्टा परिचालन
सुरुङमार्ग सञ्चालनको लागि १५० जनाको जनशक्ति चौबिसै घण्टा परिचालन गर्ने तयारी गरिएको छ। टोलीलाई ट्राफिक निगरानी तथा कन्ट्रोल, प्राविधिक मर्मत, सिभिल संरचना मर्मत, सुरक्षा तथा उद्धार (फायर फाइटिङ, एम्बुलेन्स सेवा सहित) र टोल संकलन गरी पाँचवटा युनिटमा विभाजन गरिने निर्देशक नेपालले जानकारी दिए।
विशेष गरी सुरुङ ‘क्लोज्ड सिस्टम’ हुने भएकाले दुर्घटना वा आगलागीको अवस्थामा जोखिम बढी हुने हुँदा सुरक्षा व्यवस्थापनमा ६४ जनाको छुट्टै टोली खटाइने उनले बताए।
उनका अनुसार हाल नागढुंगा–बलम्बु खण्डमा सवारीसाधनको गति पीक आवरमा १० किलोमिटर प्रतिघण्टा पनि पुग्न सक्दैन र सानो अवरोध हुँदा घण्टौँ जाम हुने अवस्था छ। सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्ने खोला (पश्चिम पोर्टल) बाट बलम्बुसम्मको यात्रा करिब ७ मिनेटमै पूरा गर्न सकिने उनको भनाइ छ।
‘सुरुङमार्ग व्यवस्थापनको लागि हामीले ५ वर्षको लागि सेवाप्रदायक नियुक्त पनि गरिसकेका छौँ। यसै हप्ताबाट सेवाप्रदायक फिल्डमा मोबिलाइज हुँदै हुनुहुन्छ। उहाँहरूले १५० जनाको कर्मचारीहरू चौबिसै घण्टा सञ्चालन गर्नलाई तयार गर्नुहुनेछ र उहाँहरूले चौबिसै घण्टा नागढुङ्गा सुरुङ मार्गलाई सञ्चालन गर्नुहुनेछ। त्यो ५ वटा युनिटमा डिभिजन हुनेछ' उनले भने।
ट्राफिक फेसिलिटी मनिटरिङ एण्ड कन्ट्रोल युनिटले कन्ट्रोल रुममा बसेर सीसीटिभीको माध्यमबाट मनिटरिङ गर्नेछन्। अरू जडान भएका फ्यासिलिटिजहरू मेन्टेनेन्स, भेन्टिलेसन, लाइटिङ सिस्टमका मेन्टेनेन्स युनिट छ। सिभिल वर्क्सको मेन्टेनेन्स युनिट छ भने आपतकालीन अवस्थामा उद्धार गर्ने, फायर फाइटिङ गर्ने, एम्बुलेन्स रेस्क्यु गर्ने लगायतका कामका लागि सेफ्टी म्यानेजमेन्ट युनिट छ। ५४ जनाको टोल कलेक्सन युनिट रहनेछ।
'हामीले अलिकति सेफ्टीमा फोकस गरेर सेफ्टी म्यानेजमेन्ट टिममा ६४ जनाको टिम मोबिलाइज हुनेछ। यसले सुरक्षित रूपमा चाहिँ टनेल आवागमन सञ्चालन गर्नलाई चाहिँ सहज बनाउनेछ। सँगसँगै हामीले यो अटोमेटिक आरएफआईडी बेस टोल कलेक्सन सिस्टम पनि हामीले जडान गरेका छौँ’ उनले भने।
वार्षिक ३५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान
आयोजना निर्देशक नेपालले सुरुङमार्गमा सञ्चालनमा आएपछि वार्षिक करिब ३५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार हाल दैनिक करिब ८ हजारभन्दा बढी सवारी नागढुंगा नाकाबाट आवतजावत गर्ने गरेका छन्। यीमध्ये ६० प्रतिशत सवारी सुरुङमार्गतर्फ मोडिएमा ३५ करोड रुपैयाँ राजस्व उठ्ने उनले बताए।
उक्त राजस्व सिधै सडक बोर्ड नेपालको खातामा जम्मा हुने उनको भनाइ छ। उनका अनुसार सुरुङमार्गमा आरएफआईडी आधारित स्वचालित टोल प्रणाली लागु गरिनेछ। सवारीसाधनमा जडान गरिएको ट्यागमार्फत टोल प्लाजामा रोकिनु नपरी स्वतः शुल्क कट्ने व्यवस्था गरिएको हो।
सुरुङगमार्गमा सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरिएको छ। समय, इन्धन, सञ्चालन लागत लगायतका आधारहरू शुल्क निर्धारण गरिएको उनले जानकारी दिए। उनले हरेक दुई वर्षमा सुरुङमार्ग प्रवेशको शुल्क परिमार्जन गर्ने पनि जानकारी दिए।
सुरुङमार्ग निर्माणको प्रभावित सबैलाई मुआब्जा वितरण गरिसकेको पनि उनले जानकारी दिए। उनका अनुसार घर क्षति भएका १८ परिवारलाई पूर्णरूपमा र ७५ घर परिवारलाई आंशिक क्षतिपूर्ति दिइएको छ।