शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एक महिनामा नेपाल भित्रिए १ लाख ७ हजार ९ सय ३४ पर्यटक, भारतपछि चीन प्रमुख स्रोत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
एक महिनामा नेपाल भित्रिए १ लाख ७ हजार ९ सय ३४ पर्यटक, भारतपछि चीन प्रमुख स्रोत

पश्‍चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ।

काठमाडौं- सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक भ्रमणका लागि आएका छन्। 

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४ सय ३२ पर्यटक भित्रिएका छन्। जुन कुल आगमनको ३१ प्रतिशत हो।

सार्कबाहेकका एसियाली राष्ट्रबाट २६ हजार ७ सय २६ पर्यटक भित्रिएका छन्। युरोपबाट २१ हजार ९ सय ८८, ओसिनियाबाट ५ हजार ८ सय ९८, अमेरिकाबाट २ हजार ५ सय १८, पश्चिम एसियाबाट एक हजार ६ सय ९७ र अफ्रिकी मुलुकबाट ३ सय १५ र अन्य मुलुकबाट १५ हजार ३ सय ६० पर्यटक भित्रिएका छन्।

मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एसियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो रहेको छ। यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ।

देशगत तथ्यांक हेर्दा सैबभन्दा बढी भारतबाट १५ हजार १ सय ९६ र दोस्रोमा चीनबाट ११ हजार ७ सय २२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २ सय ३१ पर्यटक भित्रिएका छन्।

सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारीअघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३ सय ९९ पर्यटक भित्रिएका थिए।

पछिल्लो समय पश्‍चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ।

नेपालमा पर्यटक संख्यामा वृद्धि गर्नका लागि डिजिटल मार्केटिङ, तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीतिहरु आवश्यक छ।


प्रकाशित : सोमबार, वैशाख २१ २०८३१४:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend