मन्त्रिपरिषद्को आजको बैठकले यसअघि राष्ट्रपतिबाट फिर्ता आएको उक्त अध्यादेशलाई फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यसका साथै बैठकले औद्योगिक क्षेत्रमा प्रयोग हुने परम्परागत कोइलरलाई आधुनिक इलेक्ट्रोनिक कोइलरले विस्थापित गर्न उद्योगहरूलाई कर्जा प्रवाह गर्ने र वायु गुणस्तर मापन क्षमता सुदृढ बनाउने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
कृषि क्षेत्रको सुधारका लागि सरकारले भारतसँग जिटुजी प्रक्रियामार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई अनुमति दिने निर्णय गरेको छ।
त्यसैगरी बैठकले संसद् भवन परिसरमा प्रवेश लगायतका महत्त्वपूर्ण पक्षहरूलाई समेटेर तयार पारिएको सिंहदरबार परिसरको नयाँ गुरुयोजनालाई समेत स्वीकृत गरेको प्रवक्ता पोखरेलले बताए।