काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर शुक्रबार सगरमाथा आधारशिविर भ्रमणमा पुगे। उनी त्यहाँ पुगेर केवल अवलोकनमात्र गरेनन्।
उनले अमेरिकी कम्पनीले विकास गरेको एउटा आधुकिक ड्रोनको उद्घाटन परीक्षण(प्रदर्शन) गरे। अमेरिकी कम्पनी फ्रिफ्लाई सिस्टमले विकास गरेको ‘अल्टा एक्स जेन टु’ ड्रोनको परीक्षण उनले त्यहाँ गरेका थिए।
भारी सामन आपूर्ति गर्ने प्रविधि जडान गरिएको यो ड्रोनको समुन्द्र सतहको क्षमता पुष्टि भइसकेको छ तर उच्च हिमाली क्षेत्रमा यसको क्षमता कति हो भनेर अझै परीक्षण भएको छैन। यही परीक्षणका लागि भन्दै परीक्षण नै गर्ने तयारी थियो तर नेपाल सरकारको आवश्यक अनुमति नलिएकाले सामान्य प्रदर्शनमै सीमित भएको छ।
सन् २०२६ को जनवरीमा ल्याइएको यो ड्रोन कुनै पनि तौल नबोकी ५० मिनेट उड्नसक्छ। त्यस्तै १५ केजीको तौल बोकेर १५ मिनेटसम्म र १० केजीको तौलमा ३० मिनेटसम्म उडानसक्छ।
तर यो क्षमता उचाइको होइन। त्यही उचाइमा यसको क्षमता परीक्षण गरी सगरमाथाको फोहर संकलन तथा अन्य आपूर्तिमा प्रयोग गर्न सकिने कम्पनीको प्रस्ताव रहेको छ।
यो ड्रोनले केवल भारबहनमात्र नभएर यसको लाइडार र सेन्सर प्रविधिसहितको क्यामेरा पनि हो। यसले जमिनमुनीको थ्रीडी नक्सा पनि बनाउनसक्ने क्षमता राख्छ।
सगरमाथामा ड्रोन प्रविधिको प्रदर्शनमा अमेरिकाभन्दा चीन अघि रहेको छ। चीनले यसअघि नै डिजैआईका ड्रोनको सफल परीक्षण पनि गरिसकेको छ। चिनियाँ ड्रोन प्रविधिको परीक्षण भइसकेको र त्यसलाई अमेरिकाले पछ्याएको हो।
पछिल्लो समय अमेरिका र चीनबीचमा ड्रोन, एआई तथा रोबोटिक्समा तीव्र प्रतिस्पर्धा रहेको छ।