काठमाडौं- टेलिकम कम्पनीहरूहरू परम्पारगत बिजनेस घट्दै गएको र नयाँ बिजनेसमा आईएसपीहरूले हस्तक्षेप गर्न थालेपछि आम्दानीको हिसाबले संकटमा पर्न थालेका छन्। यही संकट मोचनका रुपमा नयाँ बिजनेस मोडलको खोजीमा कम्पनीहरु लागेका छन्।
सरकारी स्वामित्वको नेपाल टेलिकमले भने विगत लामो समयदेखि डेटा खपत बढाउने उपकरणको खोजीमा रहेको छ। डेटाको खपत वर्षौंदेखि नबढ्ने अर्कोतिर आईएसपीले पनि हिस्सा बढाउँदै जाँदा टेलिकमको व्यापार अपेक्षित बढ्न सकेको छैन।
डेटाको खपत बढाउनका लागि स्ट्रिम तथा ओटीटी प्ल्याटफर्मलाई औपचारिक रुपमै भित्र्याएर बण्डलिङ सेवा दिनेगरी छलफल फेरि अघि बढेको छ। यसअघि पनि नेटफ्लिक्ससँग नेपाल टेलिकमको छलफल भएको थियो।
अहिले फेरि टेलिकमका प्रतिनिधिसँग पहिलो चरणको छलफल भएको स्रोतको दाबी छ। नीतिगत व्यवस्था लागयतका नियामकीय तहभन्दा व्यापारिक तहमा छलफल भइरहेको सम्बन्धित व्यक्तिहरूको भनाइ छ।
टेलिकमसँग नेटफ्लिक्सको छलफल भएको यो पहिलो पटक भने होइन। यसअघि छलफलभएर पनि न्यूनतम रेभिन्यून ग्यारेन्टीमा कुरा मिलेको थिएन। ग्राहक जति भएपनि न्यूनतम शुल्क तिर्नैपर्ने हुन्छ जुन नेटफ्लिक्सले धेरै मागेको थियो। त्यही भएर यसअघि डलि अघि बढेको थिएन।
यस्ता ओटीटी प्ल्याटफर्मको प्रवेश भएपछि नेपालीहरूले नेपाली रुपैयाँमै शुल्क तिरेर सेवा लिनसक्छन्। जसले गर्दा एकातिर व्याापर हुन्छ भने अर्कोतिर टेलिकमको डेटाको बिजनेस पनि बढ्छ। यद्यपि यो पालिको छलफल पनि प्रारम्भिक चरणमै भएकाले के हुन्छ भन्ने निश्चित छैन।
टेलिकमको अग्रसरताभन्दा पनि ओटीटिहरूकै पनि चासो हुने गरहेको छ। प्रस्ताव आएपछि सामान्य छलफल स्वभाविक भएको टेलिकमका अधिकारीहरूले बताएका छन्। तर व्यापारिक डिल भएकाले यसमा अहिलै बोल्नमिल्नेगरी विकास नभएको उनीहरूको भनाइ छ। 'यस्ता छलफल विगतदेखि धेरै भएका छन्। हुन्छन् तर सम्भव नभएपछि बीचमै हराएर जान्छन्' एक अधिकारी भन्छन्।