शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मातातीर्थपछि पोखराको जलमहल होटल पनि आरोग्य पर्यटनमा रूपान्तरण गर्दै दिनेश प्रसाईं

सोमबार, वैशाख २१ २०८३
मातातीर्थपछि पोखराको जलमहल होटल पनि आरोग्य पर्यटनमा रूपान्तरण गर्दै दिनेश प्रसाईं

काठमाडौं- आरोग्य पर्यटन (वेलनेस टुरिजम) को बढ्दो विश्वव्यापी मागलाई लक्षित गर्दै होटल व्यवसायी दिनेश प्रसाईंले आफ्ना होटल सेवाहरूलाई वेलनेसमा आधारित बनाउने रणनीति अघि बढाएका छन्।

काठमाडौंको मातातीर्थस्थित 'इको बुटिक जंगल महल वेलनेस रिसोर्ट' सञ्चालनमा ल्याइसकेपछि उनले अब पोखरास्थित होटेल जलमहललाई पनि आरोग्य पर्यटन केन्द्रका रूपमा रूपान्तरण गर्ने तयारी गरेका हुन्।

१५ वर्षअघि स्थापना भएको जलमहल होटललाई ‘हिमालयन वेलनेस रिसोर्ट बाई होटल जलमहल’ अवधारणामा विकास गरिने प्रसाईंले बताए। उनका अनुसार होटलको अधिकांश भागलाई आयुर्वेद, योग, ध्यान, साउन्ड हिलिङलगायत सेवामा आधारित बनाइनेछ।

पोखराको घारीपानी क्षेत्रमा ९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा हाल ५१ कोठा सञ्चालनमा छन्। 'काठमाडौंमा सञ्चालनमा रहेको रिसोर्टको सेवासुविधालाई पोखरामा पनि विस्तार गर्दैछौं,' प्रसाईंले भने, 'होटेललाई क्रमशः पूर्ण वेलनेस गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ।'

WhatsApp Image 2026-04-30 at 15.40.27.jpeg
जलमहल।

यसअघि मातातीर्थमा १६ रोपनी क्षेत्रफलमा करिब ७० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको इको बुटिक जंगल महल वेलनेस रिसोर्ट २०८१ सालदेखि सञ्चालनमा छ। चार वर्ष लगाएर निर्माण गरिएको उक्त रिसोर्टमा ४६ कोठा रहेका छन्। रिसोर्टमा आयुर्वेदिक उपचार, योग, ध्यान, साउन्ड हिलिङ, प्राकृतिक आहार र जीवनशैली सुधारसम्बन्धी सेवा उपलब्ध छन्।

प्रसाईंका अनुसार आरोग्य पर्यटन रोकथाममुखी स्वास्थ्य अवधारणामा आधारित छ, जसले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलनलाई प्राथमिकता दिन्छ। रिसोर्टमा क्लासिक आयुर्वेद, होलिस्टिक वेलनेस, कर्पोरेट स्ट्रेस म्यानेजमेन्ट, वेलनेस टुर प्याकेज, गुरु स्पेसियल कार्यक्रम तथा तालिममूलक रिट्रिटहरू सञ्चालनमा छन्।

नेपालमा आरोग्य पर्यटनको सम्भावना बढ्दै गए पनि हाल यसको हिस्सा सीमित रहेको छ। नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने कुल पर्यटकमध्ये करिब २ प्रतिशत मात्रै वेलनेस पर्यटक हुने अनुमान छ। तर पछिल्ला वर्षहरूमा यस क्षेत्रमा निजी लगानी बढ्दै गएको देखिन्छ।

सरकारले पनि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रणनीति निर्माणको तयारी गरिरहेको छ। यस्तो अवस्थामा जलमहल होटलको वेलनेसमा रूपान्तरणलाई पर्यटन क्षेत्रको नयाँ प्रवृत्तिका रूपमा हेरिएको छ। सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्ष मनाउने घोषणासमेत गरिसकेको छ।


प्रकाशित : सोमबार, वैशाख २१ २०८३११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend