काठमाडौं- लामो प्रतीक्षा र पटक-पटक सरेको उत्पादन मितिबीच अमेरिकी विद्युती सवारी निर्माता कम्पनी टेस्लाले आफ्नो बहुप्रतिक्षित 'टेस्ला सेमि' ट्रकको मास प्रोडक्सन सुरु गरेको छ। कम्पनीले हालै आफ्नो आधिकारिक प्लेटफर्म र लगानीकर्ताहरूसँगको ब्रिफिङमा जानकारी गराएको हो।
टेस्लाका सीईओ एलन मस्कले पहिलो पटक सन् २०१७ मा यो इलेक्ट्रिक ट्रकको अवधारणा सार्वजनिक गरेका थिए। सुरुवाती योजना अनुसार यो सन् २०१९ मै सडकमा आउनुपर्ने थियो। तर ब्याट्री आपूर्तिमा देखिएका समस्या र विश्वव्यापी महामारीका कारण यसको व्यावसायिक उत्पादन वर्षौंसम्म पछि धकेलिएको थियो।
२०२६ मा आइपुग्दा भने टेस्लाले सेमी ट्रकको मास प्रोडक्सन सुरु गरेको छ। हालसम्म टेस्लाले पेप्सिकोलगायत केही सीमित ग्राहकहरूलाई मात्र थोरै संख्यामा यो ट्रक उपलब्ध गराउँदै आएको थियो। अब भने टेस्लाले मास मार्केटमा सेमी ट्रक बिक्री गर्ने छ।
टेस्ला सेमी ट्रकको मूल्य भने निक्कै महँगो छ। सेमी ट्रकको सुरुवाती मूल्य २ लाख ६० हजार अमेरिकी डलर तोकिएको छ। त्यस्तै लङ रेन्ज सेमीको मूल्य २ लाख ९० हजार डलर कायम गरिएको छ।
टेस्लाले नेभाडास्थित आफ्नो गिगा फ्याक्ट्री नजिकै सेमी ट्रकका लागि छुट्टै उत्पादन प्लान्ट तयार गरेको छ। यो प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउँदा वर्षिक ५० हजार वटासम्म ट्रक उत्पादन गर्ने क्षमता राख्छ। तर २०२६ मा भने ५ देखि १५ हजार सेमी ट्रक बिक्री हुने अपेक्षा टेस्लाको छ।
टेस्लाका सेमी प्रोग्राम डाइरेक्टर ड्यान प्रिस्टलीले यो उत्पादन वृद्धिको चरण योजनाबद्ध रूपमा अगाडि बढिरहेको र यसै वर्षको अन्त्यसम्ममा धेरै ग्राहकहरूले ट्रक प्राप्त गर्ने जानकारी दिएका छन्।
शक्तिशाली क्षमता र प्राविधि
टेस्ला सेमी ट्रक अन्य परम्परागत डिजेल ट्रकको तुलनामा निकै शक्तिशाली र किफायती मानिएको छ। टेस्ला सेमी पूर्णलोड (करिब ३७ हजार केजी) सहित सडकमा सहजै यात्रा गर्न सक्छ।
टेस्ला सेमी दुई ब्याट्री अप्सन स्ट्न्डर्ड ३ सय २५ माइल र लङ रेन्ज ५ सय माइलसम्म रेन्ज दिने कम्पनीले जनाएको छ। यसको ब्याट्री लाइफ १० लाख माइलसम्म टिक्ने गरी डिजाइन गरिएको छ।
टेस्लाले सेमी ट्रकमा द्रुत गतिमा चार्ज हुने प्रविधि विकास गरेको छ। नयाँ 'मेगावाट चार्जर' को सहयोगमा यो ट्रक मात्र ३० मिनेटमा ६० प्रतिशतसम्म चार्ज हुने छ। जसले गर्दा लामो दूरीको ढुवानीमा चार्ज गर्ने समयको बचत हुन्छ।
चालकको सुविधाका लागि टेस्ला सेमीको क्याबिनमा सिट बीचमा राखिएको छ। जसले गर्दा चालकले सडकको भिजिविलिटी राम्रो देख्ने छन्। साथै यसमा अत्याधुनिक टचस्क्रिन र अटो-पाइलट सुरक्षा सुविधाहरू छन्।
विज्ञहरूका अनुसार टेस्ला सेमीको व्यावसायिक उत्पादनले विश्वको ढुवानी र लजिस्टिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ। डिजेल ट्रकको तुलनामा यसको सञ्चालन खर्च निकै कम हुने र वातावरण प्रदूषण शून्य हुने भएकाले ठूला कम्पनीहरू यसतर्फ आकर्षित भइरहेका छन्।
टेस्लाले यस परियोजनाका लागि अर्बौं डलर थप लगानी गर्ने घोषणासमेत गरिसकेको छ।टेस्लाको यो कदमले भविष्यमा ठूला सवारी साधनहरू पनि पूर्ण रूपमा विद्युतीय हुन सक्छन् भन्ने प्रमाणित गरिदिएको छ। अबको केही महिनामा अमेरिकाका सडकहरूमा यी ट्रकहरू ठूलो संख्यामा गुडिरहेको देखिने छ।