काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक संकेत उल्लंघनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो।
यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो। रासस
