काठमाडौं- एमसीसी परियोजनाअन्तर्गत धानखोला-लमही सडकखण्डको स्तरोन्नति औपचारिक रूपमा सुरु भएको छ।
एमसीए नेपालले पूर्व-पश्चिम राजमार्गअन्तर्गत ४० किलोमिटर लामो धानखोला-लमही सडकखण्डको स्तरोन्नति तथा मर्मत कार्य औपचारिक रूपमा सुरु गरेको छ।
नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गर्दै सुरु गरिएको यो आयोजनाले सडकको गुणस्तर, टिकाउपना र दीर्घकालीन लागत प्रभावकारिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
आयोजनाअन्तर्गत सडकलाई १२ मिटर चौडा बनाइनेछ। यसअनुसार दुवैतर्फ सात मिटर क्यारिजवे र साढे दुई मिटर सोल्जर निर्माण गरिनेछ। पुरानो आस्फाल्ट सामग्री पुनः प्रयोग गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने अभ्यास पनि यस परियोजनाको महत्त्वपूर्ण पक्ष रहेको एमसीए-नेपालले जनाएको छ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधिको प्रयोगले सडकको दीर्घकालीन गुणस्तर सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। उनले यो सडकखण्डमा दैनिक निर्भर रहने नागरिक, व्यवसायी, किसान तथा उद्यमीका लागि आयोजना महत्त्वपूर्ण हुने उल्लेख गर्दै सुरक्षित यातायातसँगै आर्थिक अवसर विस्तारमा योगदान पुग्ने बताए।
त्यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला-लमही सडक स्तरोन्नति नेपाल-अमेरिका साझेदारीको महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत दिगो पूर्वाधारमा लगानी भइरहेको उल्लेख गर्दै यसले ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने र समुदायलाई बजार तथा अवसरसँग जोड्ने विश्वास व्यक्त गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले एमसीए-नेपालका कार्यक्रम सरकारका योजना तथा कार्यक्रमसँग पूरक रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा सहयोग पुर्याउने बताए।
एमसीसीका राष्ट्रिय आवासीय उप-निर्देशक सञ्जय पौड्यालले यो आयोजना दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधिको प्रयोगमार्फत लागत प्रभावकारी पूर्वाधार निर्माणतर्फको महत्त्वपूर्ण कदम भएको बताए।
त्यस्तै एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले आयोजना पारदर्शिता, गुणस्तर र समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल सरकार र एमसीसीबीचको सहकार्यले सडक पूर्वाधार सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास समेत व्यक्त गरे।
यो सडक स्तरोन्नति आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो, जसको उद्देश्य ढुवानी लागत घटाउने, सडकको अवस्था सुधार गर्ने तथा राष्ट्रिय यातायात सञ्जाललाई थप प्रभावकारी बनाउने रहेको छ।