काठमाडौं- चक्रपथ विस्तारको दोस्रो चरण (कलंकी-बसुन्धारा) अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ।
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे।
चिनियाँ राजदूत माओमिङले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा थप लगानी गर्न इच्छुक रहेको बताए।
चक्रपथको दोस्रो खण्डमा ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेको भए पनि अहिले बसुन्धरासम्म मात्र विस्तार गर्न लागिएको हो। चक्रपथको दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले आनाकानी र अलमल गर्दै आइरहेको थियो।
कलंकी-महाराजगञ्ज क्षेत्रको सडक विस्तारका लागि नेपाल र चीन सरकारबीच २०७४ फागुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार विस्तारको काम दुई वर्षभित्र सम्पन्न हुनुपर्ने थियो तर ८ वर्षसम्म पनि काम नै सुरु नसकेको हो।
यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी सडक ८ लेनमा विस्तार भइसकेको छ। जसको दुरी १०.३९ किलोमिटर छ। यो सडक खण्ड २०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
सन् १९७७ मा चीन सरकारकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो। कोटेश्वर-कलंकी सडक चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको हो।
पहिलो खण्ड चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० मा विस्तार थालेको थियो। विस्तारको काम २०७३ माघसम्म सक्ने भनिए पनि दुईवर्ष ढिलोगरी २०७५ माघमा हस्तान्तरण भएको थियो। यो खण्ड विस्तारको लागत ३१ करोड २० लाख चिनियाँ युआन रहेको चीनले बताएको थियो।