शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

निगालो होटलको निर्माण ९० प्रतिशत सम्पन्न, सञ्चालनपछि आईपीओमार्फत ऋण घटाउने योजना

बिहीबार , माघ २९ २०८२
निगालो होटलको निर्माण ९० प्रतिशत सम्पन्न, सञ्चालनपछि आईपीओमार्फत ऋण घटाउने योजना

काठमाडौं- नगरकोटमा चारतारेस्तरको होटल निर्माण गरिरहेको निगालो होटल लिमिटेडले सञ्चालन तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस’ श्रेणीको रेटिङ प्रदान गर्दै परियोजना प्रगति उल्लेखनीय भए पनि उच्च ऋणको दबाब रहेको औँल्याएको छ।

इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधा ८८ करोड ५० लाख रुपैयाँलाई ‘डबल बी माइनस’ तथा अल्पकालीन बैंक सुविधा १ करोड ६० लाख रुपैयाँलाई ‘ए फोर’ रेटिङ प्रदान गरेको हो। यस्तो रेटिङले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।

रेटिङ प्रतिवेदनअनुसार निगालो होटल परियोजनाको करिब ९५ प्रतिशत भौतिक प्रगति २०२६ जनवरीको मध्यसम्म सम्पन्न भइसकेको छ। कम्पनीले आगामी चैत १५ देखि १५ वटा कोठाबाट आंशिक सञ्चालन सुरु गर्ने योजना बनाएको छ भने पूर्ण व्यवसायिक सञ्चालन असार २२ देखि सुरु गर्ने लक्ष्य राखेको छ।

कम्पनीले निर्माण सम्पन्नपछि होटल सञ्चालनमार्फत नियमित आम्दानी वृद्धि गर्ने रणनीति बनाएको छ। नगरकोट हिमालयको सूर्योदय-सूर्यास्त दृश्यका लागि लोकप्रिय गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटकबाट स्थिर आम्दानी हुने अपेक्षा कम्पनीले गरेको छ।

काठमाडौंसँग सहज सडक पहुँच, नगरकोट भ्यू टावर, चांगुनारायण मन्दिर तथा अन्तर्राष्ट्रिय विमानस्थलसँगको निकटताले होटलको व्यापारिक सम्भावना बढ्ने विश्लेषण गरिएको छ।

होटल उद्योगमा प्रतिस्पर्धा तीव्र रहेकाले सुरुवाती वर्षमा आम्दानी र नाफा अनुमानित स्तरमा कायम राख्न चुनौती रहने इन्फोमेरिक्सले जनाएको छ। नेपालमा होटल क्षेत्रमा प्रवेश अवरोध कम भएकाले निजी क्षेत्रको लगानी बढ्दै जाँदा मूल्य निर्धारण तथा बजार हिस्सा विस्तारमा दबाब पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

ऋणको उच्च बोझ घटाउन आईपीओ

निगालो होटलको कुल परियोजना लागत करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ। परियोजना मुख्यतः ऋणमा आधारित रहेको छ, जसमा ऋण-पुँजी अनुपात ६५:३५ रहनेछ। यस कारण कम्पनीको समग्र गियरिङ अनुपात आर्थिक वर्ष २०२६ सम्म १.५६ गुणासम्म रहने प्रक्षेपण गरिएको छ।

कम्पनीले वित्तीय दबाब घटाउन तथा ऋण सेवा क्षमतामा सुधार ल्याउन प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने योजना अघि बढाएको छ। आईपीओबाट उठ्ने रकम मुख्यतः बैंक ऋण भुक्तानी तथा वित्तीय संरचना सुदृढीकरणमा प्रयोग गरिने बताइएको छ।

कम्पनीको सञ्चालक समिति उद्योग, पर्यटन, बैंकिङ, निर्माण तथा व्यापार क्षेत्रको अनुभव भएका व्यक्तिहरू सम्मिलित रहेको छ। सञ्चालक समितिको अध्यक्ष टिकराज बराल छन्। कम्पनीका निर्देशक तथा महाप्रबन्धक अशोककुमार थापा रहेका छन्।

सन् २०१८ डिसेम्बर १९ मा निजी कम्पनीका रूपमा स्थापना भएको निगालो होटललाई २०२६ जनवरी ९ मा पव्लिक कम्पनीमा रूपान्तरण गरिएको हो। करिब ८० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको परियोजनामा कुल ६८ वटा कोठा रहनेछन्। हाल कम्पनीको प्रमुख सेयरधनीमा सुधीर खनाल रहेका छन्, जसको स्वामित्व करिब ३० प्रतिशत छ।


प्रकाशित : बिहीबार , माघ २९ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend