बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मेलम्ची बाढीपीडितलाई असारको त्रास : न पाए राहत, न त सरकारको आश

आइतबार, फागुन २२ २०७८
मेलम्ची बाढीपीडितलाई असारको त्रास : न पाए राहत, न त सरकारको आश

मेलम्ची- असार १ गते मेलम्चीमा आएको बाढी र पहिरोले मच्चाएको वितण्डाको त्रास स्थानीयहरूमा अहिले पनि उस्तै छ।

हेलम्बु गाउँपालिका-१ को भ्रेमाथाङमा गएको पहिरोका कारण मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीय प्रभावित बनेको ८ महिनासम्म पनि राहतकै पर्खाइमा छन्। चैतभित्र मेलम्ची खानेपानी काठमाडौं ल्याउने तयारीमा सरकार जुटिरहँदा स्थानीयलाई भने असारको त्रासले सताउन थालेको छ। 

मेलम्चीका बाढीपीडित चुडामणी दुलाल बाढीलगत्तै सरकारले आश्वासन दिए पनि उचित राहत र क्षतिपूर्ति नपाएको गुनासो गर्छन्।

'बाढी गएपछि प्रधानमन्त्री हेलिकप्टर चढेर आउनुभयो। आश्वासन पनि बाँड्नुभयो। तर स्थानीयले सरकारको तर्फबाट केही पाएनन्,' दुलाल भन्छन्, 'सरकार पानी लैजाने तयारीमा करोडौं खर्चेर लागिरहेको छ। हामीलाई भने फेरि असारको त्रास छ।' नदीले कटान गरेका स्थानमा अहिलेसम्म नदी नियन्त्रणको काम सुरु नहुँदा स्थानीयलाई फेरि बाढीको त्रास छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र मेलम्ची खानेपानी पुनः काठमाडौं ल्याउने दाबी गरेका छन्। अस्थायी रुपमा खानेपानी पुनः काठमाडौं ल्याउन मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा धमाधम काम भइरहेको छ।  

मेलम्ची बाढीले कटान गरेका सडक निर्माण र वस्ती बचाउनेतर्फ भने सरकारले वास्तै गरेको छैन। हेलम्बु गाउँपालिकाका स्थानीय देवी शर्मा लामिछाने खानेपानी काठमाडौं पठाउन स्थानीय सकारात्मक रहेपनि सरकारले यो क्षेत्रको सडक, शिक्षा र रोजगारीमा लगानी गर्नुपर्ने बताउँछन्।

'राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विपक्षमा स्थानीय छैनन्। पानी काठमाडौं पठाउन हामी तयार छौँ' उनले भने, 'तर पानी काठमाडौं लैजाँदै गर्दा बाढीले क्षती पुराएका बस्तीको पुनःनिर्माण हुनुपर्छ। यहाँ बिग्रिएका बाटो बन्नुपर्छ।' उनले मेलम्ची खानेपानी लैजाँदा सरकारले स्थानीयलाई बेवास्ता गर्न नहुने बताए।

हेलम्बु गाउँपालिकाका स्थानीय अशोक भण्डारी आफूहरू अघिल्लो वर्षको जस्तै असारमा बाढीको मारमा पर्ने हो कि भन्ने त्रासमा रहेको बताउँछन्।

'बाढीमा घर गुम्यो, परिवारका सदस्य गुमे। बाढी गएको पनि ९ महिना हुन लाग्यो खै अहिलेसम्म केही भएन,' उनले आँखा टिलपिल पार्दै भने, 'नदी नियन्त्रणका लागि काम नगर्ने हो भने हाम्रो बचेका बस्ती पनि असारमा आउने बाढीको डुबानमा पर्नेछन्। त्यसपछिको हालत के होला सम्झँदा पनि हामी आत्तिन्छौँ।'

मेलम्चीको बाढीमा परेर केहीको ज्यान गएको थियो भने हेलम्बुका दर्जनौँ ट्राउटफर्म र खेतीयोग्य जमिन बगरमा परिणत भएका थिए। सयौँ घर बाढीले बगाएको थियो। हजारौँ रोपनीभन्दा बढी जमिन बाढीले लगेको थियो। स्थानीय बासिन्दाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेरै बस्ती जोगाउनका लागि पटक पटक हारगुहार पनि गरिसकेका छन्। 

सरकारको ध्यान भने अस्थायी रुपमा मेलम्चीको पानी ल्याएर बैशखमा हुने निर्वाचनमा चुनावी नारा बनाउनेमा नै बढी केन्द्रित हुँदा बाढी पीडितको घाउमा कसले मल्हम लगाइदिने?

यो पनि - राष्ट्रिय गौरवमा लज्जा बनेको मेलम्ची


प्रकाशित : आइतबार, फागुन २२ २०७८०७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend