काठमाडौं- कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।
बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष एक लाख रूपैयाँको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार रूपैयाँ हस्तान्तरण गरेको हो।
यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
कुमारी बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ ईकाईहरु तथा ३१७ एटीएममार्फत सेवा दिइरहेको छ।
साथै शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि बैंकले निरन्तर सञ्चालन गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्तरूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।