आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अमेरिका-जापान खनिज सम्झौता : ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

मंगलबार, कात्तिक ११ २०८२
अमेरिका-जापान खनिज सम्झौता : ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

ह्वाइट हाउसका अनुसार जुलाईमा तय गरिएको व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५ खर्ब ५० अर्ब डलर लगानी गर्नेछ।

टोकियो- जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मंगलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेकी छिन्।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ।

एसिया भ्रमणको दोस्रो चरणमा जापान आइपुगेका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए। 'हामी सबैभन्दा उच्चस्तरका सहयोगी हौँ र तपाईँसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो', ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने।

ताकाइचीले थाइल्यान्ड-कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गरिन्। उनले जापान-अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गरिन्।

दुवै नेताले महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गरेको १०० प्रतिशत करको प्रतिक्रियामा आएको हो।

मलेसियाको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो आइपुगेका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ।

टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार ताकाइचीले रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशतमा पुर्‍याउने लक्ष्य अगाडि सारेर अमेरिकाको दबाब घटाउने प्रयास गरेकी छिन्। जापानमा करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् र वासिङ्टनले टोकियोलाई अझ बढी खर्च गर्न आग्रह गरेको छ।

ताकाइचीले गत हप्ता प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी थिइन्। उनले चीनसँग बढ्दो तनावबीच जापानले बलियो रक्षा नीति अवलम्बन गर्ने बताएकी छिन्।

ट्रम्पले मंगलबार योकोसुकास्थित अमेरिकी विमानवाहक जहाज युएसएस जर्ज वासिङ्टनमा सैनिकहरूलाई सम्बोधन गर्ने र टोयोटाका अध्यक्षसहित व्यापारिक नेताहरूसँग रात्रिभोज गर्ने कार्यक्रम छ।

अमेरिकामा जापानी आयातमाथि अहिले १५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ। यसले सेप्टेम्बरमा अमेरिकी कार निर्यातमा २४ प्रतिशत गिरावट ल्याएको छ। जापानको कार उद्योगले देशको करिब आठ प्रतिशत रोजगारी प्रदान गर्छ।

ह्वाइट हाउसका अनुसार जुलाईमा तय गरिएको व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५ खर्ब ५० अर्ब डलर लगानी गर्नेछ।

पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग ट्रम्पको घनिष्ठ सम्बन्ध रहेकाले ताकाइचीका लागि नयाँ सम्बन्ध स्थापनामा चुनौती हुने अनुमान गरिएको छ। ट्रम्पले ताकाइचीलाई ‘मेरो मित्र आबेका महान उत्तराधिकारी’ भन्दै प्रशंसा गरेका छन्।

अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता हो। उनले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गरेका छन् र त्यसपछि उत्तर कोरियाली नेता किम जोङ-अनसँग सम्भावित भेटको संकेत दिएका छन्। (रासस/एएफपी)


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend