आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एकदिने घुमाइमा देखिने सुन्दर मणिचुड

शुक्रबार, असोज १७ २०८२
एकदिने घुमाइमा देखिने सुन्दर मणिचुड

काठमाडौं- एक दिने हिँडाइमा यात्रा पूरा गर्न सकिने उपत्यका वरपरका डाँडा पछिल्लो समय सहरबासीको घुम्ने रोजाइमा परिरहेको छ। सहरको होहल्लाबाट केही पर प्राकृतिक सुन्दरतामा हिँडाइको मजाका साथै स्वास्थ्यका दृष्टीले पनि उपयोगी यस्ता गन्तव्यमा चहलपहल बढ्न थालेको छ।

त्यसरी एक दिने हिँडाइको मजा लिन चाहनेलाई भोटेचौर, कात्तिके भञ्याङ, नगरकोट, सुन्दरीजल, शिवपुरी, फर्पिङ, चम्पादेवी, चन्द्रागिरी, गोदावरी, फूलचोकी, पनौती, भालेश्वर, अनन्तलिंगेश्वर, दलचोकी, नमोबुद्ध जस्ता दर्जनौँ गन्तव्य छन्। त्यहीमध्ये एक हो, मणिचुड।

कमण्डलु आकारको सफा पानीको दह, विभिन्न चैत्य र मन्दिर, खुला चौर, पाटी र वरपर डाँडा र त्यसपर देखिने हिमाल, यी सबैले मणिचुड सुन्दर बनेको छ। साँखु बजारबाट ६ किलोमिटरको दुरीमा २ हजार २ सय ३० मिटरको उचाइमा रहेको छ मणिचुड।   

मणिचुड राजाले राज्य चलाएको ठाउँ हुनाले मणिचुड भनिएको स्थानीय सुनाउँछन्। मणिचुडमा जनै पूर्णिमाको दिन मेलासमेत लाग्ने गर्दछ, जसले धार्मिक पर्यटकलाई पनि जोडिरहेको छ। मणिचुडलाई पौराणिक भाषामा मृगेन्द्र पर्वत भनिन्छ। त्यसलाई शंखचुर अर्थात शिवपुरी डाँडाका रुपमा पनि चिनिन्छ। हिन्दु धर्मावलम्बीले मान्ने ६४ शिवलिंगमध्ये कागेश्वर, मणिचुडेश्वर, योगेश्वर र नारायणेश्वर शंखचुरमा नै रहेका छन्।

उपत्यकाको प्राचीन सहर साँखुबाट बज्रयोगिनी हुँदै मणिचुडतर्फ बढिन्छ। बज्रयोगिनी चढ्ने सिँढीको बाटो हुँदै मन्दिर पुगेर वा मन्दिर नपुग्दै वरबाटै मणिचुडतर्फ उकालो जान पनि सकिन्छ। त्यहाँबाट घुमारेचौर हुँदै झण्डै दुई घण्टा हिँडेपछि शिवपुरी राष्ट्रिय निकुञ्जको कार्यालय रहेको स्थानमा पुगिन्छ। त्यहाँबाट अगाडि सिधा बढ्दा सुन्दरीजल र जंगलको उकालोतर्फ बढ्दा मणिचुड पुगिन्छ।

साइकल यात्रीका लागि समेत मणिचुड रोजाइमा पर्ने गरेको गन्तव्य हो। मणिचुडबाटै पानी मुहान, गुर्जेभञ्याङ, विष्णुद्वार, बाघद्वार, नागी गुम्बा, शिवपुरी डाँडा, चिसापानी, भोटेचौर लगायत गन्तव्यमा समेत जान सकिन्छ। तर त्यसका लागि एक दिने यात्रा भने पर्याप्त हुँदैन।

ManichuD (14).jpg
ManichuD (1).jpg
ManichuD (3).jpg
ManichuD (2).jpg
ManichuD (4).jpg
ManichuD (6).jpg
jungle.jpg
ManichuD (5).jpg
ManichuD (7).jpg
ManichuD (8).jpg
ManichuD (10).jpg
ManichuD (11).jpg
ManichuD (12).jpg
ManichuD (15).jpg
ManichuD (17).jpg
ManichuD (16).jpg
ManichuD (18).jpg
ManichuD (19).jpg
ManichuD (20).jpg


प्रकाशित : शुक्रबार, असोज १७ २०८२०६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend