काठमाडौं- सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ। संस्थाको शुक्रबार बसेको १८औं वार्षिक साधारणसभाले अध्यक्षमा टेक लिम्बुलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
साधारणसभाले उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यमा तमलाल भुसाल, श्रीचन्द्र तण्डुकार, देउप्रसाद लिम्बु, खुसमाया श्रेष्ठ र भागीमाया थामसुहाङलाई निर्वाचित गरेको छ।
संस्थाले तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि चयन गरेको छ, जसमा ओमकृष्ण श्रेष्ठ, रोशन खड्का र सोनी अधिकारी सदस्य चयन भएका छन्। साधारणसभाले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ।
कोटेश्वरस्थित मुख्य कार्यालय भएको संस्थामा हाल १,५७० सदस्य रहेका छन्। सुयोग्यले यस वर्ष १० प्रतिशतले सदस्य संख्या वृद्धि गरी १,७२७ पुर्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ५३ लाख ८७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।
सहकारीले सहकारीका मूल्य र सिद्धान्तको पालना गर्दै, ऐन–नियम तथा नियामक निकायबाट जारी निर्देशनको पूर्ण पालनासहित स्वनियमनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।