बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

अन्तर्राष्ट्रिय युवा दिवस : युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

images
मंगलबार, साउन २७ २०८२
images
images
अन्तर्राष्ट्रिय युवा दिवस : युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

'युवामा स्वदेशमा नै केही गर्ने हुटहुटी छ। उनीहरु उद्यमशील बन्न खोजिरहेका छन्। सरकारले उद्यमशील बन्न सहयोग गरोस् चाहना तिनमा छ।'

images
images

काठमाडौं- विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ।

images

सरकारले यसरी बर्सेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो। तर, सधैँ एउटैमात्र प्रश्न उठने गरेको छ, युवाको समस्या उद्यमशीलता र रोजगारी।

images
images

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत अहिले युवाको मुख्य समस्या भनेको उद्यमशीलता र रोजगारी रहेको बताउँछन्। 'युवामा स्वदेशमा नै केही गर्ने हुटहुटी छ। उनीहरु उद्यमशील बन्न खोजिरहेका छन्,' उनले भने, 'सरकारले उद्यमशील बन्न सहयोग गरोस् भन्ने ती युवाको चाहना रहेको छ। त्यस्ता युवालाई सरकारले केही लगानी गरेर उद्यमशील बनाउनु पर्दछ।'

images
images
images

उनले युवाले अहिले गफ र भाषण नचाहेको भन्दै काम खोजिरहेको बताए। सरकारले बजेटमा ल्याएका कार्यक्रमलाई कार्यान्वयन गरिदिए मात्र युवाको धेरै समस्या समाधान हुने उनको भनाइ रहेको छ। परिषद्का उपाध्यक्ष बस्नेतले राज्यले युवालाई सके रोजगार नभए उद्यमशील बनाउनुपर्ने बताउँछन्।

'वर्षमा करिब पाँच लाख युवा श्रम बजार आउने गर्दछन्। तर ती सबै युवालाई रोजगार दिन राज्यले सक्दैन,' उनले भने, 'रोजगारी दिन नसकेका युवालाई राज्यले उद्यमशील बनाउने हो।'

करिब पाँच प्रतिशतमात्र स्वदेशमा रोजगारी पाउने अवस्था रहेको छ। सरकारले सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ लाई सही तरिकाले कार्यान्वयन गर्न सके मात्र धेरै युवा आफै उद्यमशील बन्ने उनी बताउँछन्। उनले उक्त कार्यविधिअनुसार युवालाई ऋण पाउन पनि प्रक्रिया कठिन रहेको बताए। उनले तीनवटै सरकारले युवा लक्षित सहुलियपूर्ण कर्जा ल्याएर युवालाई स्वदेशमा नै उद्यमशील बनाउन सकिने बताए।

युवा दिवस मनाउनुको मूल उद्देश्य संविधानमा उल्लिखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका सवालमा बहस पैरवी गर्नु र युवा लक्षित मुद्दाका सवालमा स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सचेतना अभिवृद्धि गर्नु हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवा (राष्ट्रिय नीतिअनुसार १६-४० वर्ष उमेरको जनसङ्ख्या ४२.५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ रहेको छ। निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तहमा ३९.६५ प्रतिशत, प्रदेश तहमा २३.६३ प्रतिशत र प्रतिनिधिसभामा १३.९ र राष्ट्रियसभामा ६.७७ प्रतिशत युवा सहभागिता रहेको छ।

नेपालको वर्तमान जनसाङ्ख्यिक संरचना हेर्दा युवा शक्तिको सङ्ख्या उच्च रहेको छ। यो जनशक्तिलाई उचित वातावरण दिनसके मात्र मान विकास र राष्ट्र निर्माणमा सकारात्मक गति हासिल गर्न सकिन्छ। देशभित्र युवाको क्षमता परिचालन गर्न कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि र सेवा व्यवसायजस्ता क्षेत्रमा युवालाई परिचालन गर्नु आवश्यक छ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे अहिले युवाको समस्या रोजगारी र उद्यमशीलता रहेको बताउँछन्। युवालाई रोजगारी दिन नसके पनि राज्यले उद्यमशील बनाउन सक्ने भन्दै युवामैत्री ल्याएका बजेट कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

'युवालाई अहिले मुख्य रोजगारी चाहिएको छ। त्यसपछि उनीहरुलाई आफै केही गर्नसक्ने खालको उद्यमशील बन्न खोजिरहेका छन्,' उनले भने, 'उद्यमशीलता बन्न खोज्ने युवालाई सरकारले सहयोग गर्नु पर्दछ।' युवा संघका अध्यक्ष थेवेले आफ्नो संगठनले तीन वर्षमा तीन लाख युवालाई उद्यमशील र ३० लाख जनालाई रोजगारी बनाउने अभियान चलाउन थालेको बताउँछन्।

पछिल्ला वर्षहरुमा खासगरी सूचना तथा सञ्चार प्रविधि, पर्यटन, कृषि र ई-कमर्सजस्ता क्षेत्रमा युवाको उपस्थित बढ्दै गएको छ। कोही उद्यमी नै भएका छन् भने कोही ‘स्टार्टप’का रुपमा प्रवेश गरेका छन्। ‘डिजिटल’ प्रविधि र नवीनतामा आधारित उद्यम व्यवसायलगायतका विविध क्षेत्रप्रति युवाको चासो र आकर्षण बढिरहेको छ। यसले देशमा केही गर्न सकिन्छ भन्ने सन्देश दिइरहेको छ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य दिल लामा युवालाई स्वरोजगारमुखी कार्यक्रम ल्याउनुपर्ने बताउँछन्। 'राज्यले युवालाई स्वरोजगारमुखी बनाउने नीति ल्याउनु पर्दछ। धेरै युवा मुलुकमा रोजगार नभए विदेसिन बाध्य भएका छन्,' उनले भने, अहिले मुलुकमा भन्दा विदेशमा धेरै युवा देखिन्छन्। ती युवालाई स्वदेशमा नै उद्यमशील बनाउने नीति सरकाले ल्याउनु पर्दछ।'

उनले युवालाई नीति निर्माणको तहमा पुर्‍याउन नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताए। उनले आफ्नो संगठन तरुण दलले युवालाई उद्यमशीलतर्फ अग्रसर गराइरहेको बताए।

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का अध्यक्ष पुष्प ओलीले युवालाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा फरक आउनुपर्ने बताए। उनले नेपाल बस्ने युवा असफल हुन भनेर समाज र राज्यले भाष्य निर्माण गरेको हुनाले बदल्न आवश्यक रहेको बताए। उनले वाइसिएलले युवालाई श्रम र उत्पादनसँग जोड्ने कार्यमा अभियान सञ्चालन गरेको जानकारी दिए।

सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो। यस्तै पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितसँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो। युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ।

साथै, राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ। यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन्। प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन्। 

परिषद्का उपाध्यक्ष बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्छन्। उनले युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता अन्त्यन्तै सीमित भएकाले पनि कार्यान्वयनमा समस्या भएको बताए।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्। नेपालमा भने युवासँग काम गर्ने संघसङ्स्थाको अगुवाइमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो। परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो।

परिषद्का उपाध्यक्ष बस्नेत छरिएका युवाका लक्षित कार्यक्रमलाई एकीकृत ढंगले लैजान आवश्यक रहेको बताउँछन्। अहिले परिषद्को सदस्यका रुपमा आठवटा मन्त्रालय रहेका छन्। तर, ती मन्त्रालयका कामलाई एकीकृत गराउन नसकेको उनको भनाइ रहेको छ।

'हामीले युवा लक्षित सबै कार्यक्रम एकद्वार प्रणालीअन्तर्गत परिषद्‌बाट गरौँ भनेर पटकपटक सरकारले ध्यानाकर्षण गरायौँ,' उनले भने, 'युवाका कार्यक्रम एकीकृत गर्न नसक्दा प्रभावकारी काम हुन सकेका छैनन्। सरकारले जतिसक्दो युवाका कामलाई एकीकृत गर्नुपर्दछ।' रासस


प्रकाशित : मंगलबार, साउन २७ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend