काठमाडौं- भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत नेपालमा ‘पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ। भारत सरकारको विदेश मन्त्रालयले २०८२ साउन १६ गते नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा परियोजनाको शुभारम्भ गरिएको हो।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित यो परियोजनाले नेपालमा स्तरोन्नत चामलको आपूर्ति सञ्जाललाई सुदृढ बनाउने लक्ष्य राखेको छ। विशेषगरी खरिद प्रक्रिया, तथ्याङ्क संकलन, र दक्ष कार्यबल निर्माणमा सहयोग पुर्याउने उद्देश्यसहित भारतको सफल सार्वजनिक वितरण प्रणालीमा आधारित ज्ञान आदानप्रदान गरिनेछ।
परियोजनाले नेपालको खाद्य आपूर्ति प्रणालीलाई डिजिटल प्रविधिमा आधारित र प्रभावकारी बनाउने दिशामा काम गर्नेछ। यस अन्तर्गत लाभार्थी व्यवस्थापन, भण्डारण तथा वितरण मोडेल, अनुगमन तथा मूल्यांकन प्रणाली, र गुनासो निवारण संयन्त्रहरूमा सुधार ल्याइनेछ।
१२ महिनाको अवधिका लागि डिजाइन गरिएको परियोजना तीन चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन तथा सरोकारवाला पक्षसँगको संवाद, दोस्रो चरणमा पाइलट कार्यक्रम, संक्षेपीकरण र अध्ययन भ्रमण, तथा तेस्रो चरणमा दीर्घकालीन कार्ययोजना विकासमा केन्द्रित हुनेछ। परियोजनाको प्रशिक्षण पक्ष भारत सरकारको 'आईटेक' कार्यक्रम अन्तर्गत सञ्चालन हुनेछ। सन् २००१ यता ३,००० भन्दा बढी नेपाली अधिकारीहरूले सो कार्यक्रमबाट तालिम प्राप्त गरिसकेका छन्।
भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको घोषणा सन् २०२३ सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको ७८ औं सत्रको अवसरमा गरिएको थियो। उक्त पहल अन्तर्गत भारत र नेपालबीच सहकार्यमा कार्यान्वयन हुने चार परियोजनामध्ये नेपालको चामल आपूर्ति श्रृंखला परियोजना प्रमुखमध्ये एक हो।
भारतस्थित संयुक्त राष्ट्रसंघ टोली र भारतको विदेश मन्त्रालयले यस पहलमार्फत दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने परियोजनाहरूको पहिचान तथा कार्यान्वयन गर्दै आएका छन्। नेपालको चामल परियोजना दक्षिण-दक्षिण सहकार्यका लागि भारतको प्रतिबद्धता र नेपाल–भारत विकास साझेदारीको जीवन्त उदाहरणको रूपमा प्रस्तुत गरिएको छ।