काठमाडौं- नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी’ भन्ने नारा सहित शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
संघको निर्वाचन भदौ ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ। अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधिभित्र रहेर आफ्नो सदस्यहरुको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सञ्चालन गर्ने उनले बताए। यस्तै, आरोहीहरुको हकहित संरक्षणका लागि र आपतकालीन उद्धारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए।
हाल सरकारले यो कोष बनाउने घोषणा गरे पनि पूर्णता पाउन सकिरहेको छैन। हिमालसम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएका कारणले धेरै नेपालीहरुले विदेशमा गएर पढ्नुपर्ने र सिक्नुपर्ने बाध्यता रहेको उनले बताए।
‘अहिले पर्वतारोहणसम्बन्धी पढाइ भने केही कलेजमा हुन्छ। तर, विश्वविद्यालयकै रुपमा नेपालमा नभएकाले माउन्टेन एडभेन्चर युनिभर्सिटी खोल्नका लागि सुरुवात गर्नेछु’, अध्यक्षका आकांक्षी शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभर्सिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधिसम्बन्धी पढ्न जाने हजारौँ युवाहरुले नेपालमै पढ्न पाउँछन्।’
अहिले पनि केही युवाहरुले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (यूआईएजीएम)को सदस्यता लिएका छन्। ती युवाहरुले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्छन् र विन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए। यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भएमा ती युवाहरु विदेशमा गएर काम गर्नुपर्ने बाध्यता नै हट्ने उनको भनाइ छ।
'यहीँ बसेर लाखौँ रूपैया काम गर्न सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीहरु समेत यहीँ पढ्न आउँछन्', उनले भने, 'किनकि हामी कहाँ त विश्वविद्यालय मात्र हैन उनीहरुले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउछन्, जुन विदेशमा छैन।’
पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभर्सिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने र विदेशीहरुलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुनसक्ने उनले बताए।
‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो। जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्नुपर्छ र मेरो प्रमुख एजेण्डा नै यही छ’, उनले भने, 'विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा नै अहिलेसम्म सुविधासम्पन्न आरोहणसम्बन्धी तालिम केन्द्र छैन।'
हाल कोङबुचे, थामे, मनाङ, पोर्चेलगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहेपनि समन्वयकारी भूमिका पर्वतारोहण सघंले गर्न नसकेको उनले बताए। यस्ताे अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ट बनाउनेतर्फ ध्यान केन्द्रित गर्दै त्यसलाई अझ राम्रो बनाउदै अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीहरुलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।
‘प्रकृतिले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ र ८ हजार भन्दा माथिका धेरै हिमालहरु नेपालमै छन। तर, नेपालीहरुले राम्रोसँग हिमालसम्बन्धी पढ्न नपाएका कारणले अहिले पनि धेरै विदेशी टुर गाइडहरु नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन्’, शेर्पाले भने ‘अब नेपालीलाई नै सक्षम बनाउने मेरो अभियान हो।’
विश्व कीर्तिमानीहरुलाई विमानस्थलमा विशेष सुविधा
अध्यक्षमा निर्वाचित भएपछि उनले हिमाल आरोहण गरेर विश्व कीर्तिमानी राखेकाहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विशेष सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
‘विश्व कीर्तिमानी भनेको सामान्य विषय हैन, त्यसैले रेकर्डधारीहरुलाई विशेष सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो कीर्तिमानीप्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता मेरो छ’, शेर्पाले भने, ‘उहाँहरुको शिर ठाठो हुनु भनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले कीर्तिमानी आरोहीहरुको सम्मानका लागि सरकारसँग विशेष पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु।’
हिमाल जोगाउन विशेष पहल
अहिले जलवायु परिवर्तनको नाममा विभिन्न एनजीओ र आईएनजीओहरुले कमाइ खाने माध्यमको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै गएको छ। तर, सहरमा त्यही हिमाल संरक्षण र जलवायु परिवर्तनको बारेमा गोष्ठी गरेर करोडौँ रूपैयाँ स्वाहा बनाइरहेको उनकाे भनाइ छ।
‘हिमाली क्षेत्रमा पछिल्लो समय वर्षैपिच्छे हिमतालहरु फुटिरेहका छन्, हिमपहिरो गइरहेको छ। त्यसैले जलवायु परिवर्तनले कहाँ-कहाँ असर गरेको छ र त्यसबाट बचाउनका लागि के-के गर्न सकिन्छ र के गर्ने भन्ने विषयमा सम्बन्धित ठाउँमा त्यहीका पर्वतारोहीहरुसँगै समन्वय गरेर जिम्मेवारी दिनेछु’, शेर्पाले भने।
उनीहरुको सुझावअनुसार कुन क्षेत्रमा के-के गर्दा संरक्षण हुन्छ र हिमाल जोगाउन सकिन्छ भनेर काम गर्ने र जलवायु परिवर्तनसम्बन्धी काम गर्ने सघंस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताए।
को हुन् फुर्वा ग्याल्जेन शेर्पा?
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका गाउँपालिका-३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै पढ्दै आरोहण क्षेत्रमै सक्रिय भए। उनले ६ हजारभन्दा माथिको एउटा हिमाल आरोहण गरेका छन्।
उनी बाल्यकालदेखि अहिलेसम्म पर्वतीय पर्यटनसँग निकट नै भएर काम गरिरहेका छन्। पर्वतारोहणसँगमा उनी पहिलोपटक सन् १९९९ देखि २००२ सम्म कार्यसमिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखको रुपमा पनि उनले काम गरे।
पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम, वाल क्लाइमिङ प्रतियोगितामा तीनपटक संयोजक भएर काम गरिसकेका छन्। त्यसबाहेक नेपालको हिमाली क्षेत्रमा हुने दुर्घटना र परिघटनासँग सधैँभरी नजिकबाट नियालेर समाजसेवा र उद्धारको काम गरिरहेका छन्।
‘मेरो जिवनमा सबैभन्दा बढी काम गरेको र समय बिताएको क्षेत्रनै पर्वतारोहण क्षेत्र नै हो। यसैमा बाँकी समय नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने चाहना राखेको छु’, उम्मेदवार शेर्पाले भने, ‘अहिलेसम्म जे जति ज्ञान हासिल गरेँ ती सबै पर्वतारोहण संघको नेतृत्वमा रहेर गर्न खोजेको हुँ।’