सोमबार, साउन १२ गते २०८२    
सोमबार, साउन १२ २०८२
images
images

केराखेतीबाट १५ लाख रूपैयाँसम्म आम्दानी गर्छन् कैलालीका टेकेन्द्र, १२ जनालाई रोजगारी

images
सोमबार, साउन १२ २०८२
images
images
केराखेतीबाट १५ लाख रूपैयाँसम्म आम्दानी गर्छन् कैलालीका टेकेन्द्र, १२ जनालाई रोजगारी
फाइल तस्बिर

किसान टेकेन्द्र धामीमार्फत् नियमित १२ जना कामदारले रोजगार पाएका छन्। त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ।

images
images

टीकापुर- कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बिक्री गरे।

images

'समयमै उत्पादन हुँदा ४७ लाख रूपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन', उनले भने, 'मैले राम्रो उत्पादन भएका बेला एक बिघामा १५ लाख रूपैयाँसम्म कमाएको छु।'

images
images

धामीले १९ बिघामा केराखेती गरेका छन्। यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन्। १४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन्।

images
images
images

यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ। 'आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ', उनले भने, 'मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ।'

केराखेतीमा राम्रो आम्दानी देखेपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ। 'आफ्नो जमिन सदुपयोग र बाँकी जमिन लिजमा लिएर खेती गरिरहेको छु', उनले भने, 'मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ। लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ।'

किसानले असारमा केरा रोप्ने गर्दछन्। बर्खाको सिजनमा केराको अभाव हुन्छ। केरा किसान धामी मूल्य राम्रो पाउनका लागि किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउँछन्। 'हरेक किसानले असारमा केरा रोप्ने चलन छ। यसपटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा फुट्छ, तर यसले मल नपाएर समस्या छ', उनी भन्छन्, 'बैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ।'

धामीले केरा खेतीमा बहुबाली खेती गरिरहेका छन्। 'केराभित्र तोरीखेती गरेर २४ क्विन्टल फल्यो, अहिले केराबारीमा सुर्खानी लटरम्म फलेको छ', उनले भने, 'कामदार अभावमा टिप्न सकेको छैन। केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ।'

धामीसँग नियमित १२ जना कामदारले रोजगार पाएका छन्। त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ। 'प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन', उनी भन्छन्, 'बाली बीमामा समस्या छ। तोकिएका कम्पनी बीमा गर्न मान्दैनन्। बीमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ। अहिले मैले चाहेर ५० लाखको मात्र बीमा गरेको छु। निकै अनुरोध गरेपछि थोरै बालीको बीमा भएको छ। बाली बीमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ।'

अहिले कैलालीका किसानले बारीमा ४० देखि ४५ रूपैयाँमा केरा बिक्री गरिरहेका छन् तर बजारमा ८० रूपैयाँभन्दा बढीमा बिक्री हुन्छ। केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन्। मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ।

नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने नेपालका ल्यावमा बेर्ना उत्पादन नहुँदा समयमै बेर्ना पाएनन्। आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउँछन्।

'आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ। बजारीकरणका लागि आवश्यक क्यारेटलगायतका सामग्री उपलब्ध गराउने गरेको छ', कृषि अधिृकत ठाकुर भन्छन्, 'आयोजनाको दोस्रो चरणमा दुईसय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ। जसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ।'

आयोजनाले आयोजना क्षेत्रका ६ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ। आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो। आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन्।

आयोजनाका प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउँछन्। 'टेकेन्द्र जी जस्तो युवा कृषिमा लाग्नु राम्रो पक्ष हो। किसानहरु केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ', आयोजना प्रमुख कँडेल भन्छन्, 'खाद्यान्नभन्दा फलफूल त्यसमा केरामा राम्रो आम्दानी लिन सकिन्छ। केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ।'

आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन्। तेस्रो चरणमा  केरा किसानलाई सघाउने कार्यक्रम रहेका र बजार विस्तारका लागि सहजीकरण गर्ने गरेका उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend