मंगलबार, साउन १३ गते २०८२    
मंगलबार, साउन १३ २०८२
images
images

एनआरएन इन्फ्रास्ट्रक्चरले खरिद गर्‍यो वर्णबास म्युजियम होटलको करिब १० प्रतिशत सेयर

images
सोमबार, साउन १२ २०८२
images
images
एनआरएन इन्फ्रास्ट्रक्चरले खरिद गर्‍यो वर्णबास म्युजियम होटलको करिब १० प्रतिशत सेयर
images
images

काठमाडौं- गैह्रआवसीय नेपालीहरूको लगानीमा स्थापित एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्युजियम होटलको करिब १० प्रतिशत सेयर खरिद गरेको छ।

images

वर्णबास म्युजियम होटल र एनआरएन इन्फ्रास्ट्रक्चरबीच गत असार २९ गते हस्ताक्षर भएको हो। सम्झौताअनुसार एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्युजियम होटल लिमिटेडको १० लाख इकाइ प्रमोटर सेयर किन्ने सम्झौता गरेको हो।

images
images

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेतासमेत रहेका होटल सञ्चालक राजेन्द्र बजगाईंले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २५ रुपैयाँ प्रिमियम थप गरी १२५ रुपैयाँका दरले कुल १२ करोड ५० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको जानकारी दिए।

images
images
images

‘अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सहज हुने र केही पुँजीसमेत जुट्ने भएकोले केही सेयर बिक्री गरेको हो,’ सञ्चालक बजगाईंले भने।

एनआरएनए नेपालीलाई पाहुनका रुपमा ल्याउनसमेत सहयोगी हुने देखेर पनि सेयर बिक्री गरेको उनले जानकारी दिए। कम्पनीले होटलको जारी पुँजीको ९.०९ प्रतिशत स्वामित्व लिएको छ।

कम्पनीका अनुसार बोर्ड अफ डाइरेक्टर्सको बैठकबाट सेयर बिक्रीको स्वीकृति लिइसकेकाले सम्झौता कार्यान्वयनमा समेत गइसकेको छ। सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चरलाई वर्णबास म्युजियम होटलको सञ्चालक समितिमा कम्तीमा एकजना प्रतिनिधि नियुक्त गर्ने अधिकारसमेत दिइएको छ।

वर्णबास म्युजियम होटल लिमिटेडले सम्झौतामा आफ्नो सबै कर चुक्ता भइसकेको र कुनै पनि प्रकारको कानूनी विवाद, कर्जा वा अपरिवर्तनीय दायित्व नरहेको स्पष्ट पारेको छ।

सम्झौताअनुसार होटलले नेपालकै कानूनअन्तर्गत सञ्चालन गर्ने सबै इजाजतपत्र, अनुमति, कर प्रमाणपत्र, होटल इजाजतपत्र, निर्माण अनुमति र लेखापरीक्षण विवरण एनआरएन इन्फ्रास्ट्रक्चरलाई उपलब्ध गराइसकेको छ।

सुवर्ण शमशेर मार्ग, काठमाडौंस्थित वर्णबास म्युजियम होटल लिमिटेडले सानो तर विलासी बुटिक होटलको अवधारणामा विशिष्ट पहिचान बनाउँदै आएको छ। लगानी सम्झौतापछि होटलले नयाँ उचाइमा व्यावसायिक विस्तार गर्ने अपेक्षा गरेको बजागाईंले बताए।

सम्झौतापत्रमा होटलका तर्फबाट अध्यक्ष राजेन्द्र बजगाईं र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन्।

साँस्कृतिक गाथाबाट प्रेरित ‘वर्णबास’

सुवर्णशमशेर मार्ग बालुवाटारमा अवस्थित वर्णबास म्युजियम होटल नेपाली संस्कृति र जातीय विविधताको संगालोस्वरुप तयार गरिएको विशेष परियोजना हो। सांसद बजगाईंको परिकल्पनामा निर्माण भएको यो होटल संग्रहालयको स्वरुपमा विविध नेपाली संस्कार, संस्कृति, भेषभूषा र जीवनशैली झल्काउने गरी तयार पारिएको छ।

चार जात, छत्तिस वर्णको प्रतिनिधित्व हुने गरी तयार पारिएको होटलमा देशका विभिन्न भूगोल र जातीय समुदायहरूको विशिष्टता समेटिएको छ। प्रत्येक तलामा फरक क्षेत्र र संस्कृतिको थिम छ। तराईमा थारु, पहाडमा गुरुङ/मगर/नेवार, हिमालमा शेर्पा समुदाय झल्कने गरी सजाइएको छ।

१० तले होटलको ६ तलामा संग्रहालयको अवधारणामा तयार गरिएका सुइट रुमहरू छन्। यी ४८ वटै सुइटहरू नेपालको गाउँ र भूगोलसँग जोडिएका नाममा चिनिएका छन्। जस्तै चितवन, धम्पुस, धुन्चे। डिजाइन, फर्निचर, भित्तेचित्र, भुइँ र टायल्सदेखि सामग्रीसम्म सबै स्वदेशी उत्पादन र हस्तकला झल्काउने गरी बनाइएको छ।

सगरमाथाको अनुकरणमा माथिल्लो तला

होटलको सबैभन्दा माथिल्लो तला ‘सगरमाथा’को प्रतिनिधित्वमा तयार पारिएको छ। अतिथिहरू ‘गोक्यो’ नाम दिइएको स्विमिङ पुल र ‘साउथ कोल’ नामक बार हुँदै त्यहाँ पुग्छन्। यहाँबाट काठमाडौं उपत्यकाको भव्य दृश्य देख्न सकिन्छ।

नेपालको जातीय, सांस्कृतिक तथा भौगोलिक विविधतालाई जीवन्त रूपमा अनुभव गराउने उद्देश्यले निर्माण गरिएको यो होटलको कुल लगानी १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। प्रारम्भिक डिजाइन थाई वास्तुकारद्वारा तयार पारिएको थियो भने अन्तिम डिजाइन नेपाली मूलका अमेरिकी प्रशिक्षित वास्तुकार सञ्जयबहादुर थापाले गरेका हुन्।

आरोहीलाई प्राथमिकता

संग्रहालय शैलीको संरचनाले आकर्षित हुने पर्यटकमध्ये विशेषतः हिमाल आरोहणमा आउने पाहुनालाई लक्षित गरिएको छ। होटलका सबैभन्दा ठूलो कोठाहरू ६० वर्गमिटर क्षेत्रफलमा फैलिएका छन्। नेपाली परिकारसँगै हिमाली भेगका परिकारहरू पनि मेनुमा समावेश छन्।

१४ वटा ८ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका मिङ्मा डेभिड शेर्पाले होटलको मिशन र भिजनबाट प्रभावित भई सहकार्य गरेका छन्।

एनआरएन इन्फ्रास्ट्रक्चरको साझेदारीसँगै वर्णबास म्युजियम होटलले अन्तर्राष्ट्रिय बजार विस्तारको यात्रा थप बलियो हुने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend