पर्सा- पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत ११ करोड ७६ लाख ८५ हजार संकलन गरेको छ।
कार्यालयले आव २०८०/८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले राजस्व चुहावटबापतको धरौटी रकम संकलन गरेको हो।
जबकि कार्यालयले अघिल्लो आवमा भने ६ करोड ११ लाख ३५ हजार रुपैयाँ राजस्व चुहावट धरौटी संकलन गरेको छ। कार्यालयका राजस्व अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवमा राजस्व चुहावट धरौटीबापतको रकम ह्वात्तै वृद्धि भएको जानकारी दिए।
‘यो राजस्व संकलन गर्ने निकाय नभएका कारण यस कार्यालयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व संकलनमा देखिने गर्छ’ उनले भने। कार्यालयले गत आवमा मात्र राजस्व चुहावट र विदेशी विनिमयमा १४-१४ गरी गरी २८ मुद्दा दर्ता गरेको छ।
जबकि अघिल्लो आवमा भने राजस्व चुहावट तीनवटा र विदेशी विनियममा ११ वटामात्र मुद्दा दर्ता भएको थियो। कार्यालयले गत आवमा राजस्व चुहावटको १४ मुद्दा दर्ता गरेको छ। जबकि अघिल्लो आवमा भने तीनवटा मात्र राजस्व चुहावटको मुद्दा दर्ता भएको थियो।
कार्यालयले गत आवमा राजस्व चुहावट मुद्दाको मागदाबी रकम ७६ करोड ३५ लाख ३६ हजार रुपैयाँ रहेको छ। जबकि अघिल्लो आवमा भने कार्यालयले राजस्व चुहावट मुद्दाको मागदाबी रकम भने चार करोड ५४ लाख ११ हजार रुपैयाँ थियो।
कार्यालयले गत आवमा पाँच करोड ४९ लाख १८ हजार रुपैयाँ बराबरको लिलाम बिक्रीबापत गरेको छ। जबकि अघिल्लो आवमा भने ८४ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान लिलाम बिक्री गरेको थियो।
कार्यालयमा गत आवमा भिसीटिएस जरिवानाबापत ९९ लाख ९८ हजार रुपैयाँ रकम दाखिला भएको थियो।जबकि अघिल्लो आवमा भने भिसीटिएस जरिवानाबापत ९८ लाख १५ हजार रुपैयाँ संकलन भएको छ। रासस