आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

स्याङ्जाको वालिङ यवादीमा प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

images
आइतबार, साउन ११ २०८२
images
images
स्याङ्जाको वालिङ यवादीमा प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

आवश्यकता हेरेर प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ।

images

वालिङ- स्याङ्जाको वालिङ-१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ। गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो।

images
images

कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिए।

images
images

कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको छ। 'नार्कबाट ल्याएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ लाइसेन्स प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ', उनले भने, 'कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्छन्।'

images
images
images

बीउ उत्पादकले उत्पादन गरेको उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकस, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराउने उनले बताए।

आवश्यकता हेरेर प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ। कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत बीउ उत्पादक समूह, सहकारी, फार्म र बीउ बिक्रेता व्यवसायी तथा किसानलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको छ।

कार्यालयले बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव १, मकैको मनकामना ३, गहुँ, बोडीको मालेपाटन १, चौमासे सिमी, भटमासको खजुरे भटमास १, कोदोको सैलुङ्गे १, काभ्रे १ र ओख्ले जातका मुल बीउ उपलब्ध गराउँदै आएको छ। पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको छ।

म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको छ भने नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ ६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको उनले बताए। तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव १ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ।

गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना ३ जातको उन्नत मकैको बीउ उत्पादन थालिएको छ। लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम भइनसकेको उनले जानकारी दिए।

पौवैखोलामा मोटरेबल पुल निर्माण

पुतलीबजार नगरपालिका-५ पौवैखोलामा मोटरेबल पुल निर्माण गरिएको छ। सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा-पोखरा सडकखण्डको वैकल्पिक सडकका रूपमा विस्तार हुँदै गरेको बाडखोला-पौवैगौंडे-टक्सार-दुलेगौडा सडकखण्डअन्तर्गत पर्ने पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको हो।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेकोमध्ये एक करोड ८६ लाख ९२ हजार रूपैयाँमा ठेकेदार कम्पनीसित ठेक्का सम्झौता भएको हो। पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङखोला सिद्धबाबा निर्माण सेवाबीच २०८१ बैशाख १७ गते ठेक्का सम्झौता भएको थियो। विसं २०८२ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी एक करोड ८६ लाख ९२ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिए।

ठेक्का सम्झौता भएकोमध्ये ठेकेदार कम्पनीले एक करोड ७५ लाख ६९ हजार रूपैयाँ अन्तिम भुक्तानी पाएको हो। तोकिएको समयावधिभित्रै निर्माण सम्पन्न भएको पुलको लम्बाइ १५.६ मिटर रहेको छ। आठ दशमलव चार मिटर चौडाइको उक्त पुलमा ६ मिटरमा गाडी गुड्न मिल्छ भने पुलको दायाँबायाँ दुवैतर्फ २.४ मिटरको फुटपाथ निर्माण गरिएको उनले जानकारी दिए।

नवनिर्मित मोटरेबल पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरेका हुन्। मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताए। उनले दैनिक आवतजावत, व्यापार, व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलापमा अझ सहज हुने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend