आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

एकसातामै ४ प्रतिशतले उकालो लागेको सेयर बजार बुलिस ट्रेण्डमा, ३००० बिन्दुनजिक

images
आइतबार, साउन ११ २०८२
images
images
एकसातामै ४ प्रतिशतले उकालो लागेको सेयर बजार बुलिस ट्रेण्डमा, ३००० बिन्दुनजिक

अघिल्लो साता २८७०.६३ बिन्दुमा बन्द भएको नेप्से साता अन्त्यसम्म ३.९० प्रतिशत अर्थात ११२.०१ अंकले उकालो लाग्दै २९८२.६४ बिन्दुमा पुगेको हो। पछिल्लो वृद्धिले नेप्से हाल बुलिस ट्रेण्डमा रहेको देखिएको छ।

images

काठमाडौं- नेप्से परिसूचक गतसाता सातैदिन बढ्दै झन्डै ४ प्रतिशतले उकालो लागेको छ। अघिल्लो साता २८७०.६३ बिन्दुमा बन्द भएको नेप्से साता अन्त्यसम्म ३.९० प्रतिशत अर्थात ११२.०१ अंकले उकालो लाग्दै २९८२.६४ बिन्दुमा पुगेको हो। पछिल्लो वृद्धिले नेप्से हाल बुलिस ट्रेण्डमा रहेको देखिएको छ।

images
images

लगातारको बढोत्तरीसँगै अब नेप्से परिसूचक प्रमुख प्रतिरोध क्षेत्रमा प्रवेश गर्न थालेको छ। हाल ३००० देखि ३०५० बिन्दुको क्षेत्रमा प्रतिरोध देखिएको छ। यदि बजारले यो तह पार गर्न सक्यो भने अगाडि ३१८० देखि ३२३० को नयाँ प्रतिरोध क्षेत्र हुनेछ। तर बजारले प्रतिरोध पार गर्न नसकी झर्ने अवस्था आउँदा २७५० देखि २८०० बिन्दुको क्षेत्रमा टेवा पाउने सम्भावना प्रवल रहेको विश्लेषकहरूको भनाइ छ।

images
images

नेप्सेको कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। पछिल्लो २० दिने औसत कारोबार रकम (११ अर्ब ८५ करोड) को तुलनामा ६१.९४ प्रतिशत बढी हो। उच्च भोल्यूमसँगै बजारमा खरिदकर्ता हाबी देखिएको छ।

images
images
images

साउनको पहिलो कारोबारमा गएको साता बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएकोमा यो साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ र बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो। 

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो।

सेयर बजारका लगानीकर्ताका लागि वर्ष २०८१ सुखद् रहेको थियो। चार वर्षदेखि सुस्ताएको सेयर बजार २०८१ को सुरुवातदेखि नै सुधारमा देखिएको थियो। जसका कारण एक वर्षकै बीचमा सेयर बजार धेरै उतारचढावका बीच ६ सय ५६ बिन्दुले माथि पुगेको थियो। 

सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले ३१९९.०३ को सर्वाधिक उच्च बिन्दुलाई पार गर्ने अपेक्षा लगानीकर्तामा थियो। तर त्यसपछि उतारचढावबीच बजारले ओरालो यात्रा लियो। २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अंकनजिक पुगेको थियो। जुन अहिलेसम्म ब्रेक भएको छैन।

विश्लेषकहरुले गत वर्षदेखि नै सेयर बजारमा बुल सुरु भएको बताउँदै आएका छन्। बुल लामो समय चल्ने भएकाले अघिल्लो बुलको ३२ सय बिन्दुको रेकर्ड ब्रेक नभए पनि २०८२ मा सेयर बजार राम्रो हुने संकेत देखिएको छ।     

अहिले मौद्रिक नीतिले बजार वृद्धिमा थप सहयोग पुग्ने देखिएसँगै उछाल आइरहेको विश्लेषकहरू बताउँछन्। अहिले देखिएको वृद्धिले बजारलाई बलियो रुपमा उचाइतर्फ जान सहयोग पुग्ने उनीहरूको भनाइ छ। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा  व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड रहँदै आएकोमा बढाएर २५ करोड पुर्‍याइदिएका छन्। एउटा व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अब सेयर धितो राखेर कुल २५ करोड रुपैयाँसम्म कर्जा पाउने छन्।

यस्तै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारिनु, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत बनाइनु, स्थायी निक्षेप सुविधा दर ३ बाट २.७५ प्रतिशतमा झारिनुका साथै बैंक तथा वित्तीय संस्थाको आधार दर गणना विधिमा सुधार गरी यथार्थपरक बनाइने विषयले पनि पुँजी बजारलाई फाइदा पुग्ने विश्लेषकहरू बताउँछन्। 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको पुँजीकोषको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हकप्रद सेयर जारी गर्ने सुविधा अगाडि सारेको छ। धितोपत्र बोर्डले अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएसँगै राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न दिने नीतिसमेत अगाडि सारेको हो। 

बैंकहरूले लिक्विडिटी कभरेज रेसियो (एलसीआर) र नेट स्टेबल फन्डिङ रेसियो (एनएसएफआर) जस्ता व्यवस्था प्रभावकारी कार्यान्वयन भएपश्चात कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेसमेत मौद्रिक नीतिमा उल्लेख छ।

यस्तै फाइनान्स कम्पनीलाई निक्षेप परिचालनको सीमा हटाइनु पनि सेयर बजारका लागि सकारात्मक मानिएको छ। फाइनान्स कम्पनीहरुलाई यसअघि प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा रहेकोमा यसलाई हटाइएको छ। 

साथै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरावलोकन गर्ने जनाएको छ। मौद्रिक नीतिका यी व्यवस्था नेप्सेले थप उचाइ लिन सक्ने आधार भएको विश्लेषकहरूले बताइरहेका छन्। सोही कारण सेयर बजार पनि लयमै देखिएको छ।


प्रकाशित : आइतबार, साउन ११ २०८२०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend