मुस्ताङ- मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो वितरण अभियान सुरु भएको छ। गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारणको पहुँच पुगेसँगै विद्युतीय चुल्हो वितरण अभियान सुरु भएको हो।
पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका, अपांगाता र ज्येष्ठ नागरिकलाई लक्षित गरी दुईसय १० जनालायई चुल्हो उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष टसीन्हर्वु गुरुङले जानकारी दिए।
स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका दाउरा र पछिल्ला वर्षमा प्रयोग हुँदै आएका ग्यास सिलिन्डर मुक्त बनाउने अभियानअन्तर्गत इन्डक्सन चुल्हो वितरण गरिएको उनले बताए।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा दुईसय १० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप दुईसय ६० जनालाई वितरण गर्ने योजना छ।
‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिबारे पनि जानकारी गराएका छौँ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु भएको छ। यो अभियान जारी रहने छ’ उनले भने।
लाेमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै नियमित रुपमा दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ। स्थानीय पेम्बा गुरुङले गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट मुक्त भएको बताइन्।
गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग उपयोग गर्नसके करिब ५ वर्षसम्म चुल्हो टिकाउ हुने र कुनै समस्या आए मर्मतका लागि पनि पहल गरिने जानकारी दिइन्। पालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन यस अभियनले सहयोग पुग्ने बताए। रासस