काठमाडौं- वर्तमान विश्वको सबैभन्दा ठूलो समस्यामध्येको एक हो जलवायु परिवर्तन। जलवायु परिवर्तनको मुख्य कारण मानिसले विकासका क्रममा गर्ने प्रदूषण हो। मानिसले आफ्नो इच्छा पूरा गर्न विकास गर्ने क्रममा अत्पाधिक प्राकृतिक स्रोतको दोहन गर्दा कार्बन उत्सर्जन बढिरहेको छ।
पछिल्ला केही वर्षयता विकसित देशहरुले कार्बन उत्सर्जन कम गर्न नवीकरणीय उर्जाको क्षेत्रमा उल्लेख रुपमा लगानी बढाएका छन्। यद्यपी अपेक्षाकृत रुपमा कार्बन उत्सर्जनमा कमी आउन सकेको छैन। कार्बन उत्सर्जनमा सबैभन्दा धेरै भूमिका इन्धनका रुपमा प्रयोग गरिने काइला तथा तेल नै हो।
औद्योगिक विकासदेखि मानिसको दैनन्दी प्रयोगसम्म काइला र तेलको प्रयोग बढ्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव जलवायु परिवर्तनमा परिरहेको छ। पृथ्वीको तापक्रम बढ्दा अन्टार्टिकादेखि नेपालसम्मको हिमशृंखलाहरुमा हिउँ तीव्र रुपमा पग्लिरहेका छन् भने खडेरीको जोखिम बढ्दै गइरहेको छ।
कार्बन उत्सर्जनमा विकसित र ठूला देशहरुकै धेरै योगदान रहेको छ। तीव्र रुपमा आर्थिक विकास गरिरहेका देशको यसमा सबैभन्दा धेरै योगदान रहेको छ। पछिल्लो दशकमा चीनले लोभलाग्दो विकास गरेको छ। तर यसको प्रत्यक्ष प्रभाव कार्बन उत्सर्जनमा परेको छ। सोही कारण वर्तमान विश्वमा चीन सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशका रुपमा रहेको छ।
२०२३ मा सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने १० देशको सूची भिजुअल क्यापिटालिस्टले सार्वजनिक गरेको छ। द इमिसन्स डेटावेस फ्रम ग्लोबल एटमोसफेयरिक रिसर्चलले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२३ मा सबैभन्दा धेरै कार्बन उत्सर्जन चीनले गरेको छ। देशले उत्पादन गरेको ग्रिनहाउन ग्यास इमिसनलाई गिगाटन सीओटूलाई जीटीसीओटूई भनिएको छ।
१५ देशले उत्सर्जन गरेको कार्बन विश्वको कुल कार्बन उत्सर्जनको करिब ८० प्रतिशत रहेको छ। २०२३ मा चीनले १५.९ जीटीसीओटूई उत्सर्जन गरेको थियो जुन विश्वको कुल उत्सर्जनको ३०.१ प्रतिशत हो। अत्याधिक कार्बन उत्सर्जन गरेकै कारण विश्व जलवायु फोरममा चीनले दबाब झेल्दै आएको छ। अत्याधिक कार्बन उत्सर्जन कम गर्नकै लागि चीनले ब्याट्रीमा आधारित विद्युतीय सवारी उत्पादनलाई राज्यस्तरबाटै प्रबद्र्धन गरिरहेको छ।
चीनपछि धेरै कार्बन उत्सर्जन गर्ने दोस्रो देश अमेरिका हो भने नेपालको अर्को छिमेकी देश भारत तेस्रो धेरै कार्बन उत्सर्जन गर्ने सूचीमा रहेको छ। यी हुन् १५ धेरै कार्बन उत्सर्जन गर्ने देश :
१ चीन- १५.९ जीटीसीओटूई(३०.१ प्रतिशत)
२. अमेरिका- ६ जीटीसीओटूई(११.६ प्रतिशत)
३. भारत- ४.१ जीटीसीओटूई(७.८ प्रतिशत)
४. ईयू- ३.२ जीटीसीओटूई(६.१ प्रतिशत)
५. रसिया- २.७ जीटीसीओटूई(५ प्रतिशत)
६. ब्राजिल- १.३ जीटीसीओटूई(२.५ प्रतिशत)
७. इन्डोनेसिया- १.२ जीटीसीओटूई(२.३ प्रतिशत)
८. जापान- १ जीटीसीओटूई(२ प्रतिशत)
९.इरान- १ जीटीसीओटूई(१.९ प्रतिशत)
१०. साउदी अरब- ०.८ जीटीसीओटूई(१.५ प्रतिशत)
११. क्यानडा- ०.७ जीटीसीओटूई(१.४ प्रतिशत)
१२. मेक्सिको- ०.७ जीटीसीओटूई(१.३ प्रतिशत)
१३. दक्षिण कोरिया- ०.७ जीटीसीओटूई(१.२ प्रतिशत)
१४. टर्की- ०.६ जीटीसीओटूई(१.१ प्रतिशत)
१५. अस्ट्रेलिया- ०.६ जीटीसीओटूई(१.१ प्रतिशत)
ऊर्जाको स्रोतका रुपमा अत्याधिक मात्रामा कोइला प्रयोग गर्ने र विश्वकै उत्पादन हबका रुपमा रहेका देशहरुले धेरै कार्बन उत्सर्जन गर्दै आएका छन्।
चीनले २०३० अगावै कार्बन उत्सर्जन उच्च बिन्दुमा पुग्ने र त्यसपछि कम गर्दै जाने प्रतिबद्धता विश्वमञ्चमा जाहेर गरेको छ। तर अहिलेको अवस्थाले त्यो लक्ष भेटिने छाँटकाँट छैन।
ठूला र विकसित देशले गरेको कार्बन उत्सर्जको प्रत्यक्ष प्रभाव साना मुलुकहरुमा परिरहेको छ। विकासलाई तीव्रता दिन नसकेका यस्ता देशहरुले जलवायु परिवर्तनका कारण समस्या झेल्न थालिसकेका छन् भने अर्कोतर्फ विकास गर्न निकै झमेला झेल्नु पर्ने देखिन्छ।