बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

बिहीबार , साउन ८ २०८२
स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

स्याङ्जामा २४ सहकारी संस्था, ८७ कृषक समूह, २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला बगैँचा विस्तार गरिएको छ।

वालिङ- स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ। जिल्लामा आर्थिक वर्ष २०७३/०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तला बगैँचा विस्तारले तीव्रता पाएको हो।

परियोजना सुरु गर्ने बेलामा कुल ८८७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो। हाल सो क्षेत्रफल करिब तीन गुणाले विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिइन्।

'आर्थिक वर्ष २०८०/०८१ सम्म दुई हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो', उनले भनिन्, 'गत आवमा १०० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा विस्तार भएको छ।'

परियोजनाले समूह सहकारी, कृषि फार्महरुमा आबद्ध कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, सिँचाइका सामग्री, निलोतुथो, खोप, विषादीलगायत सहयोग गर्ने गरेको छ। स्याङ्जामा २४ सहकारी संस्था, ८७ कृषक समूह, २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला बगैँचा विस्तार गरिएको छ।

'स्याङ्जाका ११ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकाबाहेक सबैमा सुन्तला सुपरजोन सञ्चालनमा छ', उनले भने, 'पुतलीबजार, भीरकोट, अर्जुनचौपारीमा तुलनात्मक रुपमा सुन्तला बगैँचाको क्षेत्रफल बढ्दो छ।'

गत आव २०८१/०८२ मा सुन्तला बगैँचा रहेको क्षेत्रफलको ६० प्रतिशत बोटबाट उत्पादित सुन्तलाबाट एक अर्ब १२ करोड रूपैयाँको आम्दानी भएको थियो। कुल क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा बिरुवा लगाइएको र उत्पादन नदिइसकेकाले आगामी दिनमा उत्पादन वृद्धि हुँदै जाने जनाइएको छ। 

यहाँ दश वर्षका लागि सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा रहने भनिएकामा यो अन्तिम वर्ष हो। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend