काठमाडौं- नक्सांकनका लागि नापी विभागले नयाँ प्रविधिको प्रयोग गरेर काम गरिरहेको छ। एलआईडीएआर (लाइट डिटेक्सन एन्ड रेन्जिङ) म्यापिङमार्फत स्पष्ट र सटिक नक्सांकनमा नापीले काम गरिरहेको हो।
एलआईडीएआर एक रिमोट सेन्सिङ प्रविधि हो जसले जमिनको सतहहरूको विस्तृत थ्रीडी मोडलहरू सिर्जना गर्न लेजर प्रकाशको प्रयोग गर्दछ। यसले लेजर पल्सहरू उत्सर्जन गरी परावर्तनहरू सेन्सरमा फर्किन लाग्ने समय मापन गर्छ। जसले सटिक दुरी मापन सम्भव बनाउँछ। यी पोइन्ट क्लाउडहरू डिजिटल इलिभेसन मोडलहरू (डीईएम) र अन्य भू-स्थानिक डेटा सिर्जना गर्न प्रयोग गर्न सकिन्छ।
एलआईडीएआरमा जहाजको सहायतामा या ड्रोनमार्फत लेजर प्रकाश जमिनतर्फ पठाइन्छ, उक्त प्रकाश जमिन र वस्तुमा ठोक्किन्छ र फर्कन्छ, त्यसमा लाग्ने समय मापन गरिन्छ र दुरी निकालिन्छ जसमा थ्रीडी बिन्दुहरूको सहायतामा गुणस्तरीय तस्बिर तयार गरिन्छ।
नापी विभागले गर्न लागेको ‘जेनेरेसन अफ हाइ रिसोलुसन डीईएम एन्ड अर्थोफोटो थ्रु एयरब्रोन एलआईडीएआर सर्भे’ एलआईडीएआर प्रविधिको प्रयोग गरेर जमिनको भूआकृति मोडल र सही अवधारणाको उचाइबाट देखिने तस्बिर नक्सा तयार पार्ने प्रक्रिया हो।
नापीले यसअघि यस्तै काम महाकालीदेखि नारायणीसम्मको २० हजार वर्गकिलोमिटर क्षेत्रमा गरिसकेको छ। अहिले नारायणीदेखि पूर्व बारा-पर्सासम्मको ४ हजार वर्गकिलोमिटर क्षेत्रमा गर्न लागिएको नापी विभागका सूचना अधिकारी टंक प्रसाद दाहालले बताए।
नापी विभागले सन् २०१९ देखि एलआईडीएआर प्रविधि प्रयोग गरेर सर्वेक्षण नक्सांकनको काम गर्न थालेको हो। त्यसअघि पनि मनकामना केबलकार, भेरी बबई डाइभर्सन, बुढीगण्डकी हाइड्रोपावरजस्ता केही परियोजनाहरूमा उक्त प्रविधिको प्रयोग भएको थियो।
एलआईडीएआर यस्तो प्रविधि हो जसले जहाजमा फिट गरिएको लेजर प्रकाशको सहायताले जमिनको सतहको उचाइ, बनावट तथा वस्तुहरूको स्थिति मापन गरी थ्रीडी नक्सा बनाउँछ।
यसमा अर्थोफोटो हवाई तस्बिरजस्तो हो। जसमा उचाइले पार्ने फरक वा क्यामेरा एंगलले दिने भिन्नता हटाएर ठ्याक्कै नक्साजस्तो बनाइएको हुन्छ। यसको प्रत्येक बिन्दुमा वास्तविक स्थान र अवस्था ठीक मिल्दो हुन्छ साथै जीआईएस प्रणालीमा प्रयोग गर्न सकिन्छ।
यसमा डिजिटल मोडल नै तयार हुन्छ। जसले जमिनको सतहको उचाइ र आकार देखाउँछ साथै यसमा रुख, घरजस्ता सतहमाथिका वस्तुहरू हटाइएका हुन्छन्। नक्सा बनाउने कामसँगै सडक, पूर्वाधार निर्माणको योजना, बाढी तथा भूकम्प अध्ययन, वन व्यवस्थापन, सहरी योजनालगायतमा यसको प्रयोग हुन्छ।
एलआईडीएआरबाट डीटीएम र अर्थोफोटो तयार पार्न पहिले जहाजमा फिट गरेर जमिनमा पठाइएको लेजर लाइटबाट डेटा संकलन गरिन्छ। उडानको क्रममा लेजर बीमहरू जमिनतर्फ पठाइन्छन्। तिनीहरू जमिन, रूख, घर आदि वस्तुमा ठोक्किएर फर्किन्छन्। हरेक बीमको ठोक्किएको स्थानको दूरी र फर्कने समय कम्प्युटरमा सुरक्षित हुन्छ। यसबाट पोइन्ट क्लाउड डाटा नामक थ्रीडी बिन्दुहरू तयार हुन्छ।
उक्त पोइन्ट क्लाउड डाटालाई अझ परिष्कृत बनाइन्छ। जसमा जीपीएस, आईएमयू र टाइमस्ट्याम्प डाटा मिलाएर सटिक स्थिति र उचाइ मिलाइन्छ। एलआईडीएआरुले लाउने रुख, घर, बाटो, जमिन सबैको बिन्दुहरूलाई वर्गीकृत गरिन्छ र जमिनको यकिन सतहमात्र निकालिन्छ। अर्थोफोटो तयार गर्न ड्रोन या एयरब्रोन क्यामराबाट लिइएका हवाई तस्बिरहरू प्रयोग गरिन्छ।
‘यो प्रविधिमार्फत काम गर्दा उत्कृष्ट थ्रीडी नक्सा तयार हुन्छ। जसले नापीका साथसाथै अन्य पूर्वाधार निर्माणमा समेत सहयोग गर्छ। जग्गासम्बन्धी विवाद समाधानका लागि समेत यो उपयोगी हुन्छ’ यही प्रविधिमा काम गरिरहेका एक विज्ञले बताए।
पहिले २० हजार वर्गकिलोमिटरको यही प्रकृतिको एलआईडीएआर परियोजनामा नापी विभागले लगभग २९ हजार ६ सय ७६ रुपैयाँ प्रतिवर्गकिलोमिटरको दरमा पूरा गरेको थियो। अहिले यही काम नापीले ४ हजार वर्गकिलोमिटर क्षेत्रमा गर्न प्रतिवर्गकिलोमिटर ५५ हजार ७३ रुपैयाँमा जिम्मा लगाएको छ। जसमा चलखेल र अनियमितता भएको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ।
नापी विभागको एउटा अस्वाभाविक खरिद, पूर्वनिर्धारित छनोटको आशंका