काठमाडौं- खानेतेलको उच्च निर्यातले आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वस्तु निर्यात हालसम्मकै उचाइमा पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष नेपालबाट २ खर्ब ७७ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ।
यो रकम हालसम्मकै सबैभन्दा बढी हो। तर, यो कीर्तिमान दीर्घकालीन रूपमा दोहोरिने अवस्था भने छैन। यथास्थितिमा निर्यात वृद्धिको यो सफलता अस्थायी देखिएको छ। दीर्घकालीन स्थायित्वका लागि मूल्य अभिवृद्धि, स्रोत विविधीकरण र नयाँ बजारको खोजी अपरिहार्य देखिन्छ।
कुल निर्यातको ४३ प्रतिशत हिस्सा मात्र भटमास, सूर्यमुखी र पाम तेलजस्ता प्रशोधित वनस्पति तेलको रहेको छ। जुन मूलतः भारतमा निर्यात हुने गरेका छन्। तर, भारतले कच्चा तेलको भन्सार दर घटाएपछि त्यही बजारमा नेपाली तेलको प्रतिस्पर्धात्मक अवस्था धराशायी भएको छ।
भारतले भटमास, पाम र सूर्यमुखी तेलको कच्चा पदार्थमा लगाउँदै आएको भन्सार दर २७ प्रतिशतबाट घटाएर १७ प्रतिशत बनाएको छ। सो निर्णयपछि भारतमै तेल उत्पादन सस्तो पर्न थालेको छ र नेपाली तेल भन्दा प्रतिलिटर ८–९ रुपैयाँ कम मूल्यमा उपलव्ध हुन थालेको छ।
साफ्टा सन्धिअनुसार नेपालले भारतमा शून्य भन्सारमा तेल निर्यात गर्न पाउँदै आए पनि अबको अवस्था सहज नरहेको नेपाल तेल उद्योग संघको भनाइ छ। संघका अनुसार यो नीति परिवर्तनपछि उत्पादन आधा घटेको छ र उद्योगहरू आंशिक वा पूर्ण रूपमा बन्द हुने स्थितिमा पुगेका छन्। भारतको नीति र साफ्टाको सुविधा हटेपछि नेपालका प्रशोधित तेल उद्योगहरूले निर्यात टिकाउन सक्दैनन्। उत्पादन क्षमता र मूल्य अभिवृद्धिमा ध्यान नदिएसम्म यो निर्यात दीर्घकालीन रूपमा कायम नहुने देखिन्छ।
कच्चा भटमास नेपालमै प्रशोधन गरी तेल उत्पादन गरेमा मात्रै दीर्घकालीन हुने छ। यसो गर्दा पिना जस्ता सहउत्पादनको पनि उपयोग हुनेछ र मूल्य श्रृंखलामा थप योगदान हुने छ।
उद्योगको लगानी संकटमा
नेपालमा हाल २७ वटा वनस्पति तेल प्रशोधन उद्योग सञ्चालनमा छन्। तीमध्ये अधिकांश उद्योगले अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, युक्रेनबाट कच्चा तेल आयात गरी भारत निर्यात गर्दै आएका छन्। यस्ता उद्योगले पछिल्लो वर्ष १ खर्ब ७ अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेका छन्, जसमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ।
तर भारतको भन्सार नीतिमा आएको परिवर्तनपछि उद्योगले उत्पादन कटौती गर्नु परेको छ। दीर्घकालीन नीतिगत सुरक्षाबिना आक्रामक लगानी गरेका उद्योगहरू संकटतर्फ उन्मुख भएका छन्।
गत आवमा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। निर्यातमा १३.३१ प्रतिशतले वृद्धि देखिए पनि आयात पनि उल्लेख्य मात्रामा बढेको छ। समग्रमा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ। तर निर्यात वृद्धिको आधार अस्थायी रहेकाले दीर्घकालीन आर्थिक स्थायित्वका दृष्टिले चिन्ताजनक अवस्था देखिन्छ।
भारतले भन्सार शुल्क घटाएसँगै नेपाली खानेतेल उद्योगको लगानी संकटमा