शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

स्याङ्जाका कृषकलाई दूधमा अनुदान

images
शुक्रबार, साउन २ २०८२
images
images
स्याङ्जाका कृषकलाई दूधमा अनुदान

उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर पाँच रूपैयाँ अनुदान उपलब्ध गराएको हो।

images

वालिङ- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ। उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर पाँच रूपैयाँ अनुदान उपलब्ध गराएको हो।

images
images

उत्पादनमा आधारित प्रोत्साहन सहयोगअन्तर्गत मापदण्डअनुसार दैनिक २०० लिटर दूध संकलन गर्ने र वार्षिक २०० दिन दूधको कारोबार गर्ने समूह सहकारीलाई छनोट गरी सहयोग दिइएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले जानकारी दिए।

images
images

कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख लिटर दूधका लागि पाँच रूपैयाँका दरले १० लाख रूपैयाँ प्रोत्साहनस्वरुप सहयोग गरेको उनले बताए।

images
images
images

प्रोत्साहन रकम वितरणसम्बन्धी कार्यालयले मापदण्ड पूरा गरेका समूह तथा सहकारीबाट आवेदन माग गरेको थियो। त्यसमा तीन वटा समूह र सहकारीले आवेदन दिए पनि मापदण्डका आधारमा दुई वटालाई छनोट गरी प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए।

कार्यालयले भिरकोट नगरपालिकामा अवस्थित भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला गाउँपालिकामा अवस्थित आँधीखोला कृषि उद्यम सहकारी संस्थामा आबद्ध कृषकलाई प्रोत्साहन उपलब्ध गराएको हो।

'प्रोत्साहन रकम दुई चरणमा गरी उपलब्ध गराएका हौँ', प्रमुख श्रेष्ठले भने, 'कृषकलाई अन्य सहयोग तथा अनुदानका कार्यक्रमभन्दा उत्पादनका आधारमा दिइने प्रोत्साहन रकम बढी प्रभावकारी हुने गरेको पाएका छौँ।'

भिरकोट दुग्ध उत्पादक सहकारी संस्थाले कुल ६ लाख ५० हजार ६५० रूपैयाँ प्राप्त गरेको छ। सहकारीले एक लाख ३० हजार १३० लिटर दूधका लागि उक्त रकम प्राप्त गरेको हो।

आँधीखोला कृषिउद्यम सहकारी संस्थाले ६९ हजार ७२० लिटर दूध संकलन गरेको थियो। संकलित उक्त परिमाणको दूधमा पाँच रूपैयाँका दरले तीन लाख ४८ हजार ६०० रूपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको उनले बताए।

दुईवटा सहकारीले तोकिएको मापदण्डअनुसार दूध उत्पादन तथा संकलन गरेका हुन्। संकलन भएको दूधको प्रतिलिटर पाँच रूपैयाँका दरले नौ लाख ९९ हजार २५० रूपैयाँ प्रोत्साहन सहयोग गरेको हो।

प्रोत्साहन सहयोगले उत्पादनमा वृद्धि हुँदै गएकाले प्रोत्साहन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ। कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, मिल्क एनालाइजरलगायत यन्त्र तथा उपकरण पनि कृषकलाई अनुदानमा सहयोग गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend