काठमाडौं- नेपाल-चीन जोड्ने रसुवाको मोटोरेवल पुल दुई महिनाभित्र (असोजसम्म) बन्ने भएको छ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई महिनाभित्र स्टीलको पुल निर्माण गर्ने बताएका हुन्।
बिहिबार राजदूत सङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालबीच भएको भेटमा उक्त कुरा भएको मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिए।
‘स्टीलको पुल हालेर दुई महिनाभित्र सञ्चालन गर्दिन्छौँ भन्ने कुरा राजदूतले गर्नु भयो’ सहसचिव ढकाल भन्छन्, ‘अनुदानमा बनाउने भएकाले लागतको कुरा हामीलाई थाहा हुँदैन, पुलको लम्बाइ कति हुन्छ अध्ययन गरेपछि थाहा हुन्छ।’
नेपाल-चीन सीमामा अवस्थित ल्हेन्देखोलामा असार २३ गते राति अकस्मात् बाढी गएकाे थियो। बाढीले ९० मिटर लामो मितेरी पुल बगाउँदा रसुवागढी-केरुङ जोड्ने प्रमुख व्यापारिक नाका बन्द छ।
बाढीले बगाएको पुल पनि चीन सरकारले नै बनाएको थियो। साथै स्याफ्रुबेँसी-रसुवागढी खण्डका विभिन्न ठाउँका सडक बगेकाे छ। उक्त सडक निर्माण गर्न पनि चीन सकरात्मक रहेकाे सहसचिव ढकाल बताउँछन्।