सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

देशकै ठूलो डिजिटल वालेट बन्यो खल्ती, वित्तीय क्षेत्रमा आईएमई समूहको अर्को फड्को

बिहीबार , साउन १ २०८२
देशकै ठूलो डिजिटल वालेट बन्यो खल्ती, वित्तीय क्षेत्रमा आईएमई समूहको अर्को फड्को

सरकारले डिजिटल भुक्तानीका साथै समग्र डिजिटल नेपालको नीतिलाई अघि बढाएको छ। सरकारकी कामकाजदेखि सर्वसधारणको गतिविधिसम्म सहज भुक्तानीको सेवाको पहुँच विस्तारमा सरकारको जोड छ।

काठमाडौं- डिजिटल भुक्तानीको सेवा दिने दुई प्रमुख सेवाप्रादयक आईएमई पे र खल्ती एकआपसमा मर्ज भएर एउटै कम्पनी बनेका छन्। आजदेखि यी दुई कम्पनीको एकीकृत कारोबार भएको हो।

मर्जरसँगै नाम ‘खल्ती बाई आईएमई’ रहेको छ। यसअघि आईएमई पे को सेवा लिइरहेका उपभोक्ताले खल्तीमा माइग्रेट हुनुपर्ने छ। 

दुई मोबाइल वालेट एउटै एपमा समेटिएपछि यो सेवा प्रयोगकर्ता संख्या, पुँजी र पहुँचका आधारमा देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ। यसअघिको तुलनामा न्यून लागतमा धेरै उपभोक्तलाई सेवा दिन सक्षम हुने विश्वास सञ्चालकहरूले गरेका छन्। 

मर्जरपछि गठन भएको नयाँ कम्पनी आइएमई खल्ती लिमिटेडको चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नयाँ सेवामार्फत अहिले झन्डै १ करोड २७ लाख उपभोक्ता डिजिटल कारोबारमा जोडिएका छन्। 

डिजिटल भुक्तानीकै क्षेत्रमा अग्रणि भएपनि यी दुई कम्पनीको विस्तार फरक क्षेत्रमा थियो। आईएमई पे र खल्तीका फरक-फरक क्षेत्रमा सघनता उच्च थियो। अब एकसाथ आएपछि फरक क्षेत्रका ग्राहक पनि जोडिएका छन्। सम्बन्धित कम्पनीकै विशेषज्ञता समाहित भएकाले यो सेवा प्रवाहमा खासै जटिल हुने छैन। तर यसले बजारमा विशेषगरी अरु कम्पनीलाई भने चुनौती दिनेछ। 

तत्कालीन आईएमई पेका प्रमुख कार्यकारीअधिकृत प्रविन रेग्मीले भने यो मर्जर बजारमा अस्तित्व बचाउनका लागि नभइ अझै राम्रो सेवा दिने उद्देश्यले प्रेरित भएको बताउँछन्। एक्लैभन्दा मिलेर अघि बढ्दा नै कम्पनी, लगानीकर्ता, उपभोक्ता र देशलाई हित हुने आफूहरूको विश्वासकै कारण यो मर्जर सम्भव भएको उनको भनाइ छ। 

सरकारले डिजिटल भुक्तानीका साथै समग्र डिजिटल नेपालको नीतिलाई अघि बढाएको छ। सरकारी कामकाजदेखि सर्वसाधारणको गतिविधिसम्म सहज भुक्तानीको सेवाको पहुँच विस्तारमा सरकारको जोड छ। 

आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यो मर्जरले सरकारको त्यही नीतिलाई सहयोग गर्ने बताउँछन्। यो मर्जरको उद्देश्य भनेको प्रयोगकर्तालाई सहज र सुलभ सेवा दिनु भएको अध्यक्ष ढकालले जानकारी दिए।

सुरक्षित अनलाइन वित्तीय सेवाका लागि काम गर्न यो मर्जरपछिको कम्पनी अझ सक्षम हुने उनको भनाइ छ। विगत लामो समयदेखि छरिएर रहेको अनुभवलाई एकै ठाउँमा ल्याउँदा यसको लाभ प्रयोगकर्ता र अन्तमा देशले नै पाउने उनको भनाइ छ। 

रेमिट्यान्सबाट उदाएको आईएमई समूहले पछिल्लो समय वित्तीय क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ। वित्तीय क्षेत्रको पनि डिजिटल सेवामा पनि आईएमईले आफ्नो पकड बलियो बनाउन सफल भएको छ।

खल्तीसँगको मर्जरले आईएमईलाई डिजिटल वित्तीय सेवामा पनि लिडर बनाएको छ। पर्यटन, उत्पादनमूलक तथा अन्य डिजिटल क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरिरहेको आईएमई समूहले डिजिटल भुक्तानीमा पनि आफूलाई बलियो बनाएको छ। 

मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत खल्तीका विनय खड्का बनेका छन्। 


प्रकाशित : बिहीबार , साउन १ २०८२१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend