पाल्पा- पाल्पाको रामपुर नगरपालिका-५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा ९ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन्।
उनले गतवर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए। यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ। ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन्।
प्रति बिरुवा ४० रुपैयाँका दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनकाे भनाइ छ। नर्सरीमा दुई हजार पाँच सय बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए।
यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ। बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ। ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योगसमेत सञ्चालन गर्दै आएका छन्। रासस